• फाल्गुन २८ २०८२, बिहीबार

अष्टलक्ष्मीलाई ओलीको जवाफी प्रश्न : माधव नेपाल एमालेमा किन आवश्यक, पार्टी फुटाउन ?

भाद्र ३१ २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमालेमा आवश्यक नभएको बताएका छन् । बिहीबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेका कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओलीले माधवकुमार नेपाल किन पार्टी फुटाउन आवश्यकता हो भन्दै प्रश्न गरे ।

उनले माधव नेपाल अब पार्टीमा किन आवश्यक भन्ने कुरा आफूले नबुझेको समेत बताए ।उनले भने, “केही साथीहरु अहिले पनि भन्नुहुन्छ । माधव कामरेड आउनुस् । तपाईँको आवश्यकता छ भनेर । फुटाउनलाई आवश्यकता छ उहाँको यहाँ ? फेरि पार्टी फुटाउने ? के गर्न आवश्यकता छ माधव कामरेडको म बुझदिन्,”

प्रज्ञा प्रतिष्ठानमा आयोजित सोही कार्यक्रममा एमाले उपाध्यक्ष तथा वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सृदृढ एमालेका लागि नेपालको आवश्यकता रहेको भन्दै एमालेमा फर्कन आग्रह गरेकी थिइन् । ओलीले शाक्यको जवाफ दिएका हुन् । तर, उनले आजैको कार्यक्रममा कसैले बोलेको भए त्यसको जवाफ नदिएको भन्दै व्यंग्य पनि गरे । कहिलेकाहीँ नेताहरुले नेपालको आवश्यकता छ भन्ने गरेकाले आफूले त्यसको जवाफ दिएको उनको भनाइ थियो ।