• फाल्गुन २८ २०८२, बिहीबार

एमाले काँचको टुक्राको पार्टी होइन, हिराको पार्टी हो : कृष्णगोपाल श्रेष्ठ

भाद्र ३१ २०७८, बिहीबार

काठमाडौँ। नेकपा एमालेका नेता तथा पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो पार्टी सुन र हिराको भएको बताएका छन्। बिहीबार एमालेको काठमाडौं जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमाले काँचको टुक्राहरुको पार्टी नभइ, हिराको पार्टी भएको बताए ।

श्रेष्ठले पार्टीबाट केही पित्तलहरु झरेर गएको र केही काँचका टुक्राहरु फुटेर जाँदैमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको दावी गरे। हिरा र सिसा छुट्याउने आँट कार्यकर्ताहरुमा हुनुपर्ने उनको भनाइ थियो।

‘हरेक पहेँला धातुहरु सुन हुँदैन। हरेक चम्किला सिसाहरु हिरा हुँदैनन्। हिरा हो कि सिसा हो भनेर छुट्याउने क्षमता तपाईंहरुसँग हुनुपर्छ।’ श्रेष्ठले भने ,’एमाले काँचको टुक्राहरुको पार्टी होइन। हिराहरुको पार्टी हो। हिरा र सिसा छुट्याउने आँट तपाईंहरुसँग हुनुपर्छ।’

श्रेष्ठले एमालेलाई नर्कटहरुको नभई सतीसालको पार्टी भएको पनि बताए। तर मुखले भनेर मात्रै सतीसालको पार्टी नबनिने उनको भनाइ छ।