• फाल्गुन २८ २०८२, बिहीबार

आगामी चुनावमा माधव नेपालको पार्टीले एक सिट पनि जित्दैन : विष्णु पौडेल

भाद्र ३० २०७८, बुधबार

बुटवल। प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले माधवकुमार नेपालको पार्टीले आगामी निर्वाचनमा एक सिट पनि नजित्ने दाबी गरेका छन्। एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै पौडेलले एमालेको विभाजनप्रति चिन्ता लिन जरुरी नभएको बताए ।

‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं’उनले भने, ‘आउने चुनावमा माधव नेपालको पार्टीले एउटा सिट पनि जित्न सक्दैन ।’

सैद्धान्तिक र वैचारिक कारण बिना पार्टी विभाजन गरिएको आरोप लगाउँदै उनले भने, ‘२०७४ सालको एमाले विभाजन बरु सिद्धान्तमा आधारित थियो, महाकाली सन्धि लगायत राष्ट्रियताका मुद्दाहरु थिए । तर अहिले कुनै एजेण्डाका आधारमा विभाजन भएको छैन ।’

सर्वोच्चको फैसलापछि तत्कालीन नेकपालाई एकतावद्ध बनाउन खोजेपनि प्रचण्ड, माधव नेपालहरुले पार्टी कब्जा गर्न खोज्दा विभाजनमा पुगेको भन्दै उनले थपे, ‘जसरी पनि सत्तामा पुग्ने महात्वाकांक्षाले प्रचण्डले माधव नेपालहरु जस्ता स्वार्थी तत्वको साथ लिएर पार्टी कब्जा गर्ने कोशिस गर्दा नेकपामा विभाजन भएको हो ।’

एक्लै चुनाव लड्ने क्षमता प्रचण्ड माधव र कांग्रेसमा नरहेको भन्दै उनले आउने चुनावमा फेरि एमाले अघिल्लो चुनावमा झै शक्तिका साथ संसदमा फर्कने घोषणा गरे ।