• फाल्गुन २८ २०८२, बिहीबार

राप्रपा अध्यक्ष कमल थापाको प्रतिज्ञा : राप्रपा अब कहिल्यै फुट्दैन

भाद्र २८ २०७८, सोमबार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली कांग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रपा अब कहिल्यै नफुट्ने बताए।

अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई व्यक्ति नभई विचार र नेताको पछि नभई नीतिको पछि लाग्न पनि आग्रह गरे। उनले आगामी कात्तिक २७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन हुने भन्दै नयाँ विधान अनुसार महाधिवेशन गर्न लागेको बताए।

अध्यक्ष थापाले भने, ‘हामी राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेका छौं, कम्युनिष्ट र कांग्रेस भन्दा फरक पहिचान बनाउन लागिपरेका छौं, साथै हाम्रो पार्टीको केन्द्रीय महाधिवेशन आगामी २०७८, कात्तिक २७ गतेदेखि काठमाडौंमा हुँदैछ, पार्टीको र महाधिवेशन नयाँ विधानअनुसार गरिनेछ’ ।
अध्यक्ष थापाले ७५३ वटै गाउँपालिका र नगरपालिकाका अध्यक्षहरू महाधिवेशनका प्रतिनिधिहरू हुनेजानकारी दिए। ‘ प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट कम्तीमा ९ जनाको दरले सक्रिय सदस्यहरू मध्येबाट महाधिवेशन प्रतिनिधि छनोट भएर आउने छन्, पहिलेको जस्तो जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमितिले खल्तीबाट झिकेर महाधिवेशनको प्रतिनिधि पठाउन सक्ने व्यवस्था अब छैन,’उनले भने।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर जबराले कम्युनिष्ट सरकारलाई विस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बताए। उनले नेपालका ठूला पार्टी भनेको नमूना भएको भन्दै यसबाट नेपाली जनताले मुक्ति खोजेको बताए।

उनले भने, ‘४ वर्षअघि मुलुकका दुई ठूला कम्युनिष्टहरू मिली चुनाव लडे, झन्डै साढे तीन वर्षसम्म झन्डै बहुमत ल्याएर मुलुक चलाए, तर त्यो समयमा जनताले के पाए भन्दा हात्ती आयो हात्ती आयो फुस्सा, साम्यवादी शक्ति भनेर आएकाहरूको समयावधि साढे तीन वर्षमै तीन टुक्रा भएर चकनाचुर भएको छ, त्यसपछि आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन, अब पार्टी फुट्ने छैन साथीहरू, एक ढिक्का भएर मुलुकमा के गर्ने भनेर हामीले देखाउनुपर्‍यो।’

अध्यक्ष जबराले यो मुलुकलाई भ्रष्टले चलाउन नसक्ने बताए। उनले अब राष्ट्रिय प्रजातन्त्र पार्टीले इमान र धर्म भएको नेतृत्व प्रदान गरी सरकार चलाउने दाबी गरे।