विराटनगर। नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो ।
एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) रोजेका १० प्रदेश सभा सदस्यलाई मान्यता दिएसँगै सो पार्टीको दलको बैठक बसी संसदीय दलको नेतामा राईलाई चयन गरिएको हो ।
प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृत समाजवादीको पक्षमा गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो । राजेन्द्र राईसहिहत राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ।
प्रदेशसभामा हाल कायम रहेका ९२ सदस्यमध्ये सभामुखसहित नेकपा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।