काठमाडौं । एमालेले संसदीय दलको बैठक बोलाएको छ । सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै संसद् अवरोध गरिरहेको एमालेका सांसदहरुले संसदमा उच्छृंखल व्यवहार देखाएपछि सांसदहरुलाई संसदीय मर्यादा सिकाउन एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
आइतबारका लागि संसदीय दलको बैठक बोलाइएको पार्टी सचिब योगेश भट्टराईले जानकारी दिए ।
शनिबार बसेको स्थायी कमिटी बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको उनले जानकारी दिए । उनले भने, ‘एमालेले सभामुखको भूमिकालाई लिएर संसदमा विरोध गरिरहेको छ । विरोधका सीमा र संसदीय मर्यादा कायम राख्ने विषयमा सांसदहरुलाई स्पष्ट पार्न संसदीय दलको बैठक बोलाइएको छ ।’ उनले एमाले मर्यादित संसदीय दलको भएको भन्दै यही विषयमा छलफल गर्न दलको बैठक बोलाइएको बताए ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरु आफ्ना साथी सांसदको बुइ चढेर रोष्टमसम्म जाने प्रयास गरेका थिए । एमालेका केही सांसदले सभामुखलाई माइकले झटारो हान्नेसम्मको प्रयास गरेका थिए । एमाले सांसदहरुले शुक्रबार प्रतिनिधिसभामा देखाएको व्यबहारको चौतर्फी आलोचना भइरहेको छ ।