• फाल्गुन २८ २०८२, बिहीबार

एमाले सांसदले माइक थुत्न खोजे तर प्रम देउवाले लुकाए

भाद्र २५ २०७८, शुक्रबार

काठमाडौं । आजको संसद बैठकमा एमालेका सांसदहरुको अवरोधकै बीचमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रस्तुत गरेका छन् ।

सो अवसरमा रोस्टममा र मर्यादापालक र सांसदबीच घम्साघम्सी चलेको थियो । आर्थिक वर्ष २०७८÷७९ को लागि प्रतिस्थापन विधेयक प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परेको हो ।

अर्थमन्त्री शर्मालाई अध्यादेश प्रस्तुत गर्नबाट रोक्न एमाले सांसद रोस्ट्रममा उक्लिन थालेपछि मर्यादापालकले रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको हो ।

यसैबीच एमाले सांसदले प्रधानमन्त्री शेरबहादुर देउवा बसेको लाइनको माइक थुत्न थालेपछि प्रधानमन्त्री देउवाले आफ्नो माइक लुकाएका थिए । हुलदंगाबीच संसदमा उनले माइक टिप्नै लाग्दा एमाले अध्यक्ष केपी ओलीले उनलाई रोकेका थिए ।