• फाल्गुन २८ २०८२, बिहीबार

मन्त्रीहरूकाे नाम चाँडो दिन सत्ता गठबन्धनका नेताहरूलाई प्रधानमन्त्री देउवाको आग्रह

भाद्र २५ २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरूको नामावली छिटो दिन आग्रह गरेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् ।

मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै देउवाले आ–आफ्नो पार्टीमा मन्त्रीहरूको नाम छिटो टुंग्याएर दिन आग्रह गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले जानकारी दिइन् ।

बिहान समय अभावका कारण छलफल नटुंगिएपछि आजै बेलुकी ६ बजे पुनः बैठक बस्ने जनाइएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट पौडेलको सहभागी थिए ।