• फाल्गुन २८ २०८२, बिहीबार

संसद् बैठक १५ मिनेटका लागि स्थगित

भाद्र २३ २०७८, बुधबार

काठमाडौँ। नेकपा एमालेले सदन अवरुद्ध गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठक सुरु हुने बित्तिकै नेकपा एमालेले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो दलले निष्कासन गरेका १४ सांसद्लाई पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गरेका थिए । भट्टराईले सभामुखको निष्पक्षतामाथि प्रश्न उठाउदै सभामुखबाट जवाफ खोजेको बताएका थिए।

त्यसपछि सभामुखले आफूले नियम र कानुनअनुसार भूमिका खेलेको बताएका थिए। सभामुखको जवाफ नसकिँदै एमाले सांसद्हरुले बेल घेर्न पुगेका थिए।

आक्रोशित एमाले सांसद्हरुले सभामुखप्रति नाराबाजी पनि गरेका थिए।

एमाले सांसदहरुको नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।