काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र देश बाहिरबाट सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताएका छन् ।
बुधबार सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २३ औं स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमसीसी प्रयोग गरेर देशभित्र र देशबाहिरबाट सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताए ।
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) यथास्थितिमा सम्झौता कार्यान्वयन नगरिने र आफू एमसीसीको समाधान गर्न चाहेको पनि उनले बताएका छन् । तर, यहीँ अवस्थामा देशभित्र र देश बाहिरबाट सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको उनले बताए ।
उनले भने, ‘देशभित्रबाट पनि देश बाहिरबाट यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् । हामी चाहिं यथास्थितिमा हुन सक्दैन भनिराख्या छौं । हामी सकेसम्म गठबन्धनलाई बचाएर, यसको पनि समाधान सकारात्मक ढंगले होस्, देशलाई क्षति नहुने चाहेका छौं ।’