काठमाडौँ । अमेरिकी सहयोग नियोग भनिएको विवादित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोध स्वरुप काठमाडौँमा गरिने विरोध प्रदर्शन र सभालाई नेकपाका महासचिव विप्लवले सम्बोधन गर्ने भएका छन् ।
जनस्तरमा जताततै विरोध भइरहेको सो परियोजना खारेज हुनुपर्ने माग राख्दै र निरन्तर प्रदर्शन गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी विरोध कार्यक्रम सार्वजनिक गर्दै काठमाडौँमा हुने प्रदर्शन र सभालाई महासचिव विप्लवले सम्बोधन गर्ने सो पार्टीले बताएको छ ।
पार्टीको केन्द्रिय कार्यालय सचिव असलले ‘राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेपाल कम्युनिस्ट पार्टीद्वारा घोषित आन्दोलनका कार्यक्रम’ भनेर सार्वजनिक गरिएको विरोध कार्यक्रमअनुसार सो पार्टीले बुधबार, भदौ २३ गतेदेखि झदौ २८ गतेसम्म चरणचद्ध विरोध कार्यक्रम गर्नेछ ।
घोषित कार्यत्रमअनुसार सो पार्टीले एमसीसीको विरोधमा भदौ २३ गते सबै जिल्ला, स्थानीय तह र सहरहरुमा विरोध प्रदर्शन गरिने, भदौ २५ गते देशव्यापी विरोध प्रदर्शन गरिने, भदौ २६ गते सबै जिल्लाहरुमा एमसीसीसँग सम्बन्धित सम्झौता जलाउने, भदौ २७ गते जिल्ला सदरमुकाम र मुख्य सहरहरुमा सिटी जुलुश र एमसीसी खारेज गरौँ लेखिएका बेलुन उडाउने भएको छ ।
भदौ २८ गते काठमाडौँमा विसाल प्रदर्शन साथै सभा गरिने बताइएको छ । भदौ २८ गते काठमाडौँमा गरिने प्रदर्शन र सभालाई महासचिव विप्लवले नै सम्बोधन गर्ने सो पार्टीको केन्द्रिय सचिवालयले जनाएको छ ।