• बैशाख २८ २०८३, सोमबार

सुदूरपश्चिममा अधिकांश सांसदले किन रोजे नेकपा (एस) ?

भाद्र २१ २०७८, सोमबार

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)को वर्चश्व बढ्दै गएपछि नेकपा (एमाले) उपाध्यक्ष भीम रावल आफ्नै प्रदेशमा कमजोर बनेका छन् । गृहजिल्ला अछामलगायत सुदूरपश्चिमका अधिकांश जिल्लाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एस) रोजेपछि उपाध्यक्ष रावल कमजोर बनेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा कुनै समय एकल वर्चश्व कायम गरेका रावलकै विश्वाशिला सांसदहरूले एमाले त्यागेर नेकपा (एस) रोजेपछि उनी एक्लिएका छन् । विगत लामो समययता रावलको गृहजिल्ला अछाम लगायतका अन्य जिल्लामा बलियो पकड थियो । तर, एमाले विभाजन भएसँगै उनले आफ्नो पकड गुमाएका हुन् ।

सुदूरपश्चिमका एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षका १७ सांसदमध्ये १४ सांसदले एमाले त्यागेर नेकपा (एस) रोजेपछि रावलको राजनीतिक शक्ति कमजोर बनेको छ । संसदीय अंक गणितका आधारमा सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) सबैभन्दा ठूलो दल बनेको छ । यतिबेला एमालेका ११ जना सांसद छन् । ५२ प्रदेश सांसद रहेको सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र)का १३, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्र्टी (जसपा)का २ सांसद छन् ।

आइतबार भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, सांसदहरू प्रकाश रावल र तारालामा तामाङले नेकपा (एस)मा सनाखत गरेका छन् । यसअघि भदौ १५ गते १० जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरिसकेका थिए । यो सँगै एमाले उपाध्यक्ष भीम रावलले आफ्नो वर्चश्व गुमाएका छन् । रावलको साथमा सभामुखसहित ५ जना सांसदमात्र छन् । यद्यपि अहिले पनि एमाले संसदीय दलका नेता प्रकाश शाह, हर्क बहादुर कुँवर, कृष्ण सुवेदी, आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजले एमाले त्यागेका छैनन् ।

रावलले आफूनिकट सांसदहरूलाई नेकपा (एस)मा जानबाट रोक्न भने सकेका छैनन् । एकीकृत समाजवादी पार्टी गठनपूर्व नेता नेपाल एमालेमै रहँदा उनको बुँई चढेर रावलले ओलीको कटू आलोचना गरेका थिए । उनी सुरुवातीदेखि नै ओलीका आलोचक र विरोधी हुन् । सर्वोच्च अदालतले गत वर्ष २०७७ फागुन २३ गते नेकपा बदर र एमाले पूर्ववत् अवस्थामा फर्काएपछि उनी सदनदेखि सडकसम्म ओलीको विरोधमा उत्रिएका थिए ।

त्यसपछि दोस्रो पटक विघटित संसद्को पुनःस्थापनको माग र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग राख्दै हस्ताक्षरसहित सार्वोच्चमा रिट दर्ता गराउन जाँदा रावल नेपालबाट टाढिएका थिए । त्यस्तै नेपालनिकट सांसदहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए । तर, त्यो बेला रावलले सांसदबाट राजीनामा दिए । तथापि केही दिनमै उनले राजीनामा भने फिर्ता लिएका थिए । नेपालका अत्यन्त विश्वाशिला पात्र रावल नेपालले आफ्नो अध्यक्षमा नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गर्दा साथ दिएनन् ।

त्यो समयमा उता ओलीले एमाले पार्टीको पूर्व सांगठानिक संरचना २०७५ जेठ २ ब्युँत्याए । त्यसपछि नेपाल पक्षका रावलसहित १० जना सांसद ओली पक्षमा समाहित भए । संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक कदम भएको भन्दै रावल लगायतका केही नेताले ओली प्रतिगमनको मतियार भएको संज्ञा दिएका थिए ।

यसरी खरो विरोधमा उत्रिने रावल ओलीकै मतियार बन्न पुगेपछि आफूहरूले एमाले त्यागेको तर्क गर्छन्, सांसद प्रकाश रावल । त्यस्तै अन्य सांसदहरूले पनि भीम रावल नै सबै होइनन्, हामीले व्यक्तिलाई प्रधान ठान्दैनौँ । हामीलाई व्यक्तिभन्दा पनि विचार प्रधान लाग्छ । यसर्थ हामीले एमाले र रावललाई प्रधान मानिनौँ र नेकपा एकीकृत समाजवादी नै रोज्यौँ ।