काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोड सीमा राखेपछि नेप्से परिसूचक एक सातामै झण्डै २०० अंकले घटेको छ ।
पूँजी बजारमा तनावपूर्ण अवस्था देखिएपछि अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई सोमबार फोन गरेका थिए । कुराकानीका क्रममा उनले पूँजी बजारमा देखिएको पछिल्लो परिस्थिति सहज बनाउन आग्रह गरेका हुन् । साथै, कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर समस्या समाधान गर्न पनि उनले गभर्नरलाई सुझाएका छन् ।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाएर परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेको अर्थमन्त्री शर्माको सचिवालयले जनाएको छ।