काठमाडौँ। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ। सुदूरपश्चिम बाहेकका अन्य ६ वटा प्रदेशमा इञ्चार्जदेखि लिएर विभिन्न जनवर्गीय मोर्चा र संगठनको जिम्मेवारी तोकिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ।
भदौ ९ गते निर्वाचन आयोगबाट राष्ट्रिय दलको मान्यता पाएपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रदेश इञ्चार्ज विभिन्न मोर्चा संगठन र विभागको जिम्मेवारी बाँडफाँड गरेको हो।
पार्टीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इञ्चार्ज तोकेको छ।
सुदूरपश्चिम प्रदेश इञ्चार्ज भने तोकिएको छैन ।
यस्तै एकीकृत समाजवादीले सम्पर्क विशेष समितिको इञ्चार्जको जिम्मेवारी विजय गुरुङलाई दिएको छ। उपत्यका विशेष प्रदेश इञ्चार्जकाे जिम्मेवारी विश्वनाथ प्याकुरेललाई दिइएको छ ।
एकीकृत समाजवादीको मोर्चा इञ्चार्जको जिम्मेवारी डा. विजय पौडेल, प्रचार विभाग प्रमुखको जिम्मेवारी जगन्नाथ खतिवडा र प्रवास क्षेत्र हेर्ने जिम्मेवारी श्रीप्रसाद शाहलाई तोकिएको छ।
एकीकृत समाजवादीले डा.बेदुराम भुसालको संयोजकत्वमा सचिवालयसमेत गठन गरेको छ । सदस्यहरुमा प्रमेश हमाल, राजेन्द्र पाण्डेय, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेका छन्।
यस्तै पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक दस्तावेज र विधान दस्तावेज लेखनका लागि पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा समिति गठन गरिएको छ।
उक्त समितिको सदस्यमा डा. बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डेय, गंगालाल तुलाधार, डा. विजय पौडेल, प्रकाश ज्वाला, जग्गनाथ खतिवडा, केशवलाल श्रेष्ठ,सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र गणेश विक रहेका छन।
निर्वाचन आयोग समिति हेर्ने जिम्मेवारीमा राजेन्द्र पाण्डेय, डा. विजय पौडेल र रामकुमारी झाँक्रीलाई तोकिएको छ । त्यस्तै संसदीय समिति हेर्ने जिम्मेवारी विरोध खतिवडा, जीवनराम श्रेष्ठ र कल्याणी खड्कालाई तोकिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ।