मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा राजसंस्था रहने व्यवस्था हुनुपर्ने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ‘ख’ पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै उनले धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताए ।
थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताए। मुलुकमा ब्रम्हलुटको अबस्था रहेको ,महालेखा परिक्षकको प्रतिवेदनले कहालीलाग्दो तस्बिर देखाएको चर्चा गर्दै थापाले निर्बाचन प्रणालीमा सुधार हुनुपर्ने टिप्पणी गरे ।
राजनीतिलाई भ्रष्टाचार तर्फ उन्मुख गराउने निर्वाचन प्रणालीले नेता, भ्रष्टाचारी , माफिया, कर्मचारी र बिचौलियाको गठबन्धन झन् बलियो बनाउने तर्फ सजग हुनुपर्ने बताए।
करोडौं खर्च गरेर चुनाव जित्नेहरुको ध्याउन्न कमाउने तर्फ केन्द्रित हुने भन्दै थापाले राजनितिलाई कमाई खाने माध्यम बनाउन दिन नहुने तर्फ मतदाता सजग हुनुपर्ने बताए।
दार्चुलाका जय सिंह धामीलाई न्याय दिने बिषयमा सरकार कमजोर देखिनु आपत्तिजनक भएको भन्दै थापाले राष्ट्रियता सर्वोपरी बन्नुपर्नेमा जोड दिए ।