• मंसिर १३ २०८१, बिहीबार

थप ६० लाख डोज खोप भित्र्याइने

भाद्र २० २०७८, आईतवार

काठमाडौं । कोरोना भाइरस ( कोभिड–१९) विरुद्धको थप ६० लाख डोज खोप भित्र्याइने भएको छ ।

सरकारले खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप असोज २९ (अक्टोबर १५) भित्र ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री बन्नासाथ चीनले सहयोगको प्रतिबद्धता जनाएको १६ लाख डोज खोप पनि सेप्टेम्बर अन्तिमसम्म भित्र्याइने भएको हो ।

मन्त्रालयका अनुसार विभिन्न स्रोतबाट करिब १ करोड ३३ लाख डोज खोप आइसकेको छ । त्यसमध्ये करिब १७ लाख डोज मौज्दात रहेको मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाले जानकारी दिए । मौज्दातमध्ये १५ लाखभन्दा बढी डोज सबै प्रदेशमा पठाइएको छ भने करिब डेढ लाख आकस्मिक अवस्थाका लागि केन्द्रमै राखिएको छ । त्यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अन्तर्राष्ट्रिय अभियान कोभाक्स सुविधाबाट समेत डिसेम्बरसम्म ६० लाख डोज खोप खरिद (कस्ट सेयरिङ) गरी ल्याउने तयारी थालिएको डा बिच्छाले जानकारी दिए । ‘कोभाक्सले कुन खोप दिन्छ भन्ने अझसम्म स्पष्ट भएको छैन,’ उनले भने, ‘तर हामीले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न मिल्ने खोपका लागि आग्रह गरेका छौं ।’