काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन् ।
मन्त्रिपरिषद्को शनिबारको बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले यही भदौ २३ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार संघीय संसद्को दुवै सदन बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बोलाइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउँदा एमाले र जसपा विभाजनपछि पहिलो पटक संसदको अधिवेशन बोलाइएको छ ।
सरकारले ल्याएको अध्यादेशका कारण एमाले विभाजन सहज भएकाले प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको एमाले र सरकारबीच सदनमा टकरावको स्थिति देखिने सम्भावना छ । त्यसमाथि सभामुख अग्नि सापकोटा र एमालेबीच विवाद रहेकाले पनि सदन सहज रुपमा चल्नेमा आशंका छ ।