काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै कसलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको हो भनेर प्रश्न गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै ओलीले भने, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्यो ? कसलाई खुसी पार्न ?’
वर्तमान सरकारले चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको उनको आरोप थियो ।
सरकारले चीनसँग सीमा विवाद रहेको भन्दै समिति गठन गर्ने निर्णय गरेपछि ओलीको यो प्रतिक्रिया आएको हो ।
मन्त्रिपरिषद्को बैठकले चीनले हुम्लामा नेपालको भूमि मिचेको भन्दै त्यसको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो ।