काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई नभइ भक्तपुरका जिल्ला सभापतिलाई चुनाव हराएर देखाउन एमाले सांसद महेश बस्नेतलाई चुनौती दिएका छन् । शुक्रबार वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुर पुगेका उनले आगामी चुनावमा आफूलाई नभएर भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिए ।
उनले भने,“बस्नेतजीले मलाई होइन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्,”
केही समयअघि नेकपा एमाले नेता बस्नेतले भक्तपुरमा शेरबहादुर देउवासँग चुनावमा लड्न चुनौतीसँगै सजिलै जित हासिल गर्ने बताएका थिए । शुक्रबार वडा अधिवेशन उद्घाटनपछि बोल्दै बस्नेतको भनाईप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाले थापालाई हराएर देखाउन चुनौती दिए ।
बस्नेतकै निर्वाचन क्षेत्रमा काँग्रेस सशक्त ढंगले अघि बढिसकेको पनि प्रधानमन्त्री देउवाको भनाइ छ । शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ बाट कांग्रेसको वडा अधिवेशन शुभारम्भ प्रधानमन्त्री देउवाले गरेका छन् । आज देशभर ५६ वडाका अधिवेशन शुभारम्भ भएको छ ।