• बैशाख २८ २०८३, सोमबार

दार्चुला घटनाबारे कुटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई गृहको पत्र

भाद्र १७ २०७८, बिहीबार

काठमाडौँ। दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनामा संलग्नमाथि कारबाहीका लागि कुटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिले प्रतिवेदन बुझाएपछि गृहले अनुसन्धान गरेर दोषीमाथि कारबाही, परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन कुटनीतिक पहल गर्न पत्राचार गरेको हो ।

छानविन समितिले दिएको सुझाव अनुसारका विषयवस्तु समेटेर परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।

छानविन समितिले बुझाएको प्रतिवेदनमा ब्याँस गाउँपालिका–२ का धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटना भारतीय सीमा सशस्त्र बल (एसएसबी) को उपस्थितिमा भएको उल्लेख छ। साथै संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न समेत समितिले सिफारिस गरेको थियो।

गृहमन्त्री बालकृष्ण खाणले संसदमा बोल्दै समितिको प्रतिवेदन नै सरकारको अन्तिम धारणा हुने बताएका थिए ।

वैदेशिक रोजगारीमा जान घरबाट निस्किएका धामी १५ साउनमा महाकाली नदीमा खसेका थिए ।