• बैशाख २८ २०८३, सोमबार

तनहुँमा एकवर्षमा सवारी दुर्घटनाका कारण ४८ को ज्यान गयो

भाद्र १७ २०७८, बिहीबार

दमौली । तनहुँमा एक वर्षको अवधिमा सवारी दुर्घटनाबाट ४८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७र७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका छन् ।

आव २०७६र७७ मा ४४ र आव २०७५र७६ मा ६० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । पछिल्ला तीन वर्षको अवधिमा जिल्लामा १५२ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । ट्राफिक प्रहरी कार्यालयका प्रमुख डोलेन्द्रबहादुर हमालले ७२ किलोमिटर पृथ्वीराजमार्ग रहेको तनहुँ खण्डमा गत वर्ष ९० स्थानमा दुर्घटना भएको जानकारी दिए ।

त्यसक्रममा १२८ सवारी साधन दुर्घटनाग्रस्त भएका थिए । उनका अनुसार मोटरसाइकल र स्कुटर ६६, ट्रक र ट्याङ्कर १८, जिप र कार १७, ट्र्याक्टर १७, बस पाँच, माइक्रो चार र एउटा टिपर दुर्घटना भएका थिए ।

दुर्घटनामा ७६ जना गम्भीर र ५१ जना सामान्य घाइते भएको सो कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेका छन् । दुई पाङ्ग्रे सवारी साधन अत्यधिक भएकाले मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको हमालले बताए ।

सडकको भौगलिक बनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको उनले बताए । “पृथ्वी राजमार्गका ठाउँ–ठाउँमा खाल्डाखुल्डी छन्, त्यसले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ”, उनले भने । दुर्घटना कम गराउन प्रहरीले अभियान पनि सञ्चालन गरिरहेको उहाँले जानकारी दिए ।

सवारी चालक र पैदललाई प्रशिक्षणदेखि ‘चालकसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्लामा बढी जसो दुर्घटना पृथ्वी राजमार्गमा हुने गरेका छन् । पृथ्वी राजमार्ग अन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावर हाउस बढी दुर्घटना हुने स्थान हुन् ।