काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको आज बुधबार मृत्यु भएको छ।
जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई नर्भिक अस्पतालले उद्धार गरी नि: शुल्क उपचार थालेको थियो। बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएकोमा साँझ ६:५१ बजे मृत्यु भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताए।
लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत उनको पछिल्लो समय मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो ।
‘लगातारको उपचारपछि पनि उहाँको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन,’ प्रवक्ता बाँस्तोलाले भने, ‘उहाँलाई लगातार अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको थियो।’