• फाल्गुन २८ २०८२, बिहीबार

विभाजनको सम्मुखमा विवेकशील साझा

भाद्र १६ २०७८, बुधबार

काठमाडौं । २०७४ साउनमा तत्कालीन विवेकशील पार्टी र साझा पार्टीको एकता भएको थियो । त्यसपछि २०७५ पुसमा पार्टीभित्र अनेकन् मतभेद बाजिएको भन्दै विभाजित भए । र, २०७७ मंसिर २४ गते विवेकशील र साझा पार्टीबीच पुनः एकीकरण पश्चात् विवेकशील साझा पार्टी गठन भएको थियो ।
पार्टी गठन भएयता वैचारिक एवम् राजनीतिक विवाद र त्यसले निम्त्याएको तीक्तताका कारण अध्यक्ष मिश्रले केही दिनअघि संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने धारणासहितको छुट्टै दस्ताबेज सार्वजनिक गरेका थिए । त्यसपछि संयोजक पाण्डे, रञ्जु दर्शना लगायतका नेताले अध्यक्ष मिश्रको विचारको खण्डन गर्दै गणतन्त्रको सुदृढीकरण, धर्म निरपेक्षताको रक्षा तथा संघीयतामा सुधारको आवश्यकतासहितको छुट्टै दस्ताबेज ल्याएका थिए ।
त्यसपछि विवेकशील साझा पार्टीभित्र अध्यक्ष मिश्र र संयोजक पाण्डेबीच आन्तरिक संघर्ष सुरु भएको थियो । दुवै पक्षबीच आन्तरिक विवाद उत्कर्षमा पुगेपछि संयोजक मिलन पाण्डेले मंगलबार केन्द्रीय सदस्यहरूलाई इमेलमा लेखे, ‘पार्टी अध्यक्ष रवीन्द्र मिश्रले राजनीतिक धार परिवर्तन गरेको र विधान उल्लंघन गरेको कारणले पार्टीलाई अनिर्णयको बन्दी बनाउन खोज्नु भएको छ, त्यसका लागि हामीहरू तत्काल केन्द्रीय कमिटीको बैठक बस्नुपर्यो र बैठकबाट नै निष्कर्षमा पुग्नुपर्यो ।’
पाण्डेले केन्द्रीय कमिटीका सदस्यहरूलाई यही इमेलको आधारमा भर्चुअल बैठकमा उपस्थित हुन आग्रह गरेका छन् । आन्तरिक विवाद बल्झिएपछि विवेकशील साझा पार्टी फेरि फुटको सम्मुखमा पुगेको छ । अध्यक्ष मिश्र र संयोजक पाण्डेले छुट्टाछुट्टै बैठक बोलाएका छन् । बैठकको अजेन्डामा मिश्र र पाण्डेको मत बाझिएपछि बिहीबार भर्चुअल बैठकका लागि बेग्लाबेग्लै समयमा केन्द्रीय कमिटीको बैठक गर्न लागेको स्रोत बताउँछ ।
संयोजक पाण्डेले केन्द्रीय कमिटीका सदस्यलाई पठाएको इमेलमा लेखिएकाृे छ, ‘पार्टीको विधानको दफा २० (१०) अनुरूप यसअघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवम् अजेन्डा तय गरिने गरिएको व्यहोरा अवगत नै छ । यसपटक पनि उक्त अभ्यास अनुरूप अजेन्डामा सहमति कायम गर्न गरिएको हरसम्भव प्रयास सफल हुन नसकेको र पार्टीका अध्यक्षले उहाँकै शब्दमा मार्ग परिवर्तन गर्नुभएको कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरि देहायको मिति, समय र स्थानमा विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक आव्हान गरेको छु ।’
बैठक सञ्चालन कार्यविधि पारित गर्ने, विधान कार्यदलले पेश गरेको पार्टीको विधान मस्यौदामाथि छलफल गरि पारित गर्ने, न्याय तथा सुशासन आयोगको गठन, वैकल्पिक पाठशालाको स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशालगायत ११ बुँदे अजेन्डामाथि छलफल गर्न बैठक बोलाइएको संयोजक पाण्डेले इमेलमा लेखेका छन् ।
यद्यपि पार्टीको अध्यक्षको हैसियतले आफूमा भएको अधिकार उपयोग गरि केन्द्रीय कमिटीको बैठक बोलाएको यसअघि नै बताइसकेका छन् । अध्यक्ष मिश्रले इमेलमा थप कुरा लेख्दै यसो भनेका छन्, ‘अध्यक्ष र संयोजकबीच समझदारी र सहमति हुन नसकिरहेकोले प्रचलित अभ्यासलाई अंगिकार गर्दै र पार्टी अध्यक्षमा सोहीअनुरूप निहित हुने अधिकारको उपयोग गर्दै वर्तमानको गाँठो फुकाउन केन्द्रीय समितिको जुम बैठक आव्हान गरेको छु ।’
पार्टीका प्रवक्ता शरदराज पाठकले भने, ‘दुवैका एजेण्डासहितका विषयमा छलफल गरिए पनि सहमति हुन सकेन । त्यसका लागि पार्टीभित्र सिर्जना भएको वैचारिक द्वन्द्वलाई न्यूनीकरण गर्न अध्यक्षले बैठक बोलाउनु भएको थियो । यो बीचमा लामो समयसम्म छलफल भए पनि सहमति नजुटेपछि अध्यक्ष र.संयोजकले आपसमा बैठक बोलाउनु भएको छ । यसबाट थप निकास आउन सक्ने आशा गर्न सकिन्छ ।’