• फाल्गुन २८ २०८२, बिहीबार

अपाङ्गमैत्री कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्नेछु : राष्ट्रियसभा उपाध्यक्ष दाहाल

भाद्र १५ २०७८, मंगलवार

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले अपाङ्गमैत्री कानुनको प्रभावकारी कार्यान्वयनका लागि आफूले पहल गर्ने बताएकी छन्।

राष्ट्रिय अपाङ्ग महासङ्घको २८ औँ स्थापना दिवसका अवसरमा आयोजित सम्मान कार्यक्रममा उनले कतिपय सन्दर्भमा निर्माण भएका कानुन प्रयोगमा नआएको भन्दै त्यसका लागि आफूले पहल गर्ने बताएकी हुन् ।

संस्थाका अध्यक्ष मित्रलाल शर्माले यस क्षेत्रलाई सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिकरुपमा अब्बल बनाउन एक अर्कालाई सम्मान गर्दै सबै अपाङ्ग व्यक्ति एकीकृत हुनुपर्नेमा जोड दिए । महासङ्घका महासचिव राजु बस्नेतले उक्त संस्थामा सबै प्रकारका अशक्त व्यक्तिलाई आवद्ध गराउनुपर्नेमा जोड दिए ।

संस्थाका पूर्वअध्यक्ष सुशीला पौडेलले सरकारले अपाङ्ग भएका व्यक्तिलाई तेस्रो दर्जाका नागरिकको रुपमा हेरेको गुनासो गरिन् । कार्यक्रममा महासङ्घका छ जना पूर्वअध्यक्षलाई सम्मान गरिएको थियो ।

विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकले सन् २०११ मा प्रकाशन गरेको अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदनले विश्वका कूल जनसङ्ख्यामध्ये १० देखि १५ प्रतिशत कुनै न कुनैरुपमा अपाङ्ग रहेका छन् । त्यसैगरी नेपालको पछिल्लो जनगणनाअनुसार कूल जनसंख्याको एक दशमलव ९४ प्रतिशत व्यक्ति अपाङ्ग रहेका छन् ।