• फाल्गुन २८ २०८२, बिहीबार

परिवार दलको महाधिवेशन कार्तिकमा हुने

भाद्र १५ २०७८, मंगलवार

नेपाल परिवार दलको केन्द्रिय कार्य समितिको बैठक दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा मिति २०७८ भाद्र १४ गते काठमाडौँमा सम्पन्न भएको छ ।

बैठकले दलको तेश्रो राष्ट्रिय महाधिवेशन कार्तिक २८ र २९ गते काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको छ । विधान शंसोधनको सिफारिस गर्न अधिवक्ता दयाराम कँडेलको संयोजकत्वमा केन्द्रिय सदस्यहरु गणेशकुमार श्रेष्ठ, गोविन्दनाथ मिश्र, सभासद मिलनकुमारी राजवंशी र अधिवक्ता राजेशकुमार विष्ट सम्मिलित समिति गठन गरेको छ ।

त्यसैगरी महामन्त्री विनोद डाँगीको संयोजकत्वमा सबै प्रदेश संयोजक सदस्य रहने गरि प्रदेश तथा स्थनीय क्षेत्रमा संयोजक तोक्न सिफारिस समिति पनि गठन गरेको दलका प्रवक्ता सन्तोष पौडेलले बताए । पचास हजार क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गर्दै २,५०० प्रतिनिधिले महाधिवेशनमा सशरीर वा अनलाइनको माध्ययमवाट सहभागी जनाउने महामन्त्री  डाँगीले जानकारी दिए ।

बैठकमा महाधिवेशनमा प्रयोग गरिने डिजिटल प्रविधिको प्रस्तुति पनि गरिएको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अन्य पार्टीसँग सहकार्य गर्दा धोका खानु परेको बताउँदै आगामी निर्वाचनमा नेपाल परिवार दल स्वतन्त्र ढंगले शसक्त सहभागी हुने उल्लेख गरे ।

पूर्वमन्त्री समेत रहेका ढकालले नेपालमा वैकल्पिक लोकतान्त्रिक शक्तिको आवश्यकता निर्विकल्प रहेको बताउँदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दलसँग जोड्न विशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताए । नेता ढकालले देशका ठूला भनौंदा पार्टीहरुले जनादेशको अपमान गरेको भन्दै अब जनताले विकल्प खोज्ने जिकिर गरे l

ढकालले कम्युनिष्ट र कांग्रेसको ध्रुविकरण नौलो नभएको भन्दै यी दुई पार्टीमा खासै भिन्नता नरहेकोले सच्चा देशभक्त र लोकतन्त्रवादीहरुले जुझारू र जिम्मेवार नयाँ शक्ति निर्माण गर्नु पर्ने धारणा राखे ।

बैठकले केन्द्रिय सदस्यमा श्रीमती बिष्णुकुमारी विश्वकर्मा (कैलाली), श्री पूर्णप्रसाद कोइराला (दैलेख), श्री केशव श्रेष्ठ (काठमाडौँ), श्री टिकाराज विश्वकर्मा (लम्जुङ्ग), श्री शंकर ढकाल (कैलाली)लाई मनोनोयन गरेको छ । त्यसै गरि पिस फोर्सको केन्द्रिय अध्यक्षमा रबिन्द्र चौलागाईं (रामेछाप)लाई जिम्मेवारी दिएको छ ।

बैठकमा बोल्दै महामन्त्री डाँगीले देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसँग अन्य कुनै दलको तुलना नहुने भन्दै परिवर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए ।

बैठकमा केन्द्रिय सदस्यहरु मनोजलाल कर्ण, अब्दुल कैयुम शाह, सन्तबहादुर पन्त, राजेशकुमार विष्ट, प्रकाशबाबु थापा, नविन बजगाईं, बुद्धिमाया पुन, रामचन्द्र चौधरी, अनिल भण्डारी, गणेशकुमार श्रेष्ठ, लक्ष्मी भण्डारी, विजयराज कट्टेल, शिवकृष्ण श्रेष्ठ, मनोज सुर्खेती, लगायतले आआफ्नो धारणा राखेका थिए ।

केन्द्रिय सल्लाहाकारहरु केशव चौलागाईं, प्राध्यापक नारायण शर्मा गजुरेल, पूर्व एआईजी प्रकाश कुँवर, पूर्वएसएसपी सुरेशकुमार केसी लगायतले परिवार दलको भविष्य राम्रो रहेको भन्दै जनताको भावनाको प्रतिबिम्वित हुने कार्यक्रम ल्याउन दललाई सुझाव दिए ।