काठमाडौँ। विवेकशील साझा पार्टीमा फेरि फूटको संकेत देखिएको छ । पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले अलग अलग केन्द्रीय समितिको बैठक बोलाएपछि पार्टी फेरि फूटतर्फ अग्रसर भएको देखिएको हो ।
अध्यक्ष मिश्रले जनआन्दोलनको उपलब्धिप्रति नै विमती राख्दै प्रतिवेदन सार्वजनिक गरेपछि शुरु भएको बिग्रह अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाउने अवस्थासम्म पुगेको हो ।
अध्यक्ष मिश्रले एकतर्फीरुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न भन्दै मिश्रले बैठकका लागि मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेलमार्फत् आमन्त्रण गरेका थिए ।
मिश्रले बोलाएको बैठक एकीकरण सम्झौता विपरीत भएको भन्दै रोक्न माग गरेका संयोजक पाण्डेले बुधबार भने केन्द्रीय सदस्यहरुलाई बिहीबार भदौ १७ गते बिहान ११ बजे छुट्टै बैठकका लागि बोलाएका हुन् । जबकी मिश्रले सोही दिन साढे १२ बजेका लागि बैठक आह्वान गरेका थिए।
केन्द्रीय सदस्यहरुलाई पठाएको पत्रमा पाण्डेले लेखेका छन् , ‘विवेकशील साझा पार्टीको विधान दफा २० (१०) अनुरुप यसअघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं एजेण्डा तय गरिने गरिएको व्यहोरा यहाँहरु सबैलाई अवगतै छ । यसपटक पनि उक्त अभ्यास अनुरुप एजेण्डामा सहमति कायम गर्न गरिएको हरसम्भव प्रयास सफल हुन नसकेको र पार्टीको अध्यक्षले उहाँकै शब्दमा मार्ग परिवर्तन गर्नु भएका कारण पार्टीलाई लामो समय अनिर्णयको बन्दी बनाउनु उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी बैठक आह्वान गरेको छु ।’
बैठकमा बैठक सञ्चालन कार्यविधि पारित गर्ने, न्याय तथा सुशासन आयोग गठन गर्ने, वैकल्पिक पाठशाला (स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स) को स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा लगायतका एजेण्डामा छलफल हुने पाण्डेले उल्लेख गरेका छन् ।
संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मागसहितको पार्टी अध्यक्ष मिश्रको दस्तावेजलाई चुनौती दिँदै संयोजक पाण्डेसहितका चार नेताले पनि अलग्गै दस्तावेज सार्वजनिक गरेकाछन् ।
२०७४ साउन ११ मा एक भएका तत्कालीन विवेकशील पार्टी र साझा पार्टी २०७५ पुसमा विभाजित बनेका थिए । फेरि २०७७ मंसिरमा एकीकरण गरेका उनीहरुले ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति गरेका थिए । तर एउटा महाधिवेशनसम्म पनि नहुँदै विवेकशील साझा पार्टी फेरि फुटतर्फ अग्रसर देखिन्छ ।