• फाल्गुन २८ २०८२, बिहीबार

संघीय संसद्को अधिवेशन आह्वानका लागि गृहकार्य

भाद्र १४ २०७८, सोमबार

काठमाडौं । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को अधिवेशन आह्वानका लागि गृहकार्य भइरहेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले अधिवेशन आह्वान गर्ने सन्दर्भमा सरकार र गठबन्धनमा रहेका राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग आज परामर्श गरेका हुन् ।

सर्वाेच्च अदालतको आदेशानुसार साउन ३ गते आह्वान भएको अधिवेशन साउन ३२ गते अन्त्य भएको थियो । अधिवेशन प्रारम्भ भएकै दिन अर्थमन्त्री जनार्दन शर्माले सदन समक्ष आर्थिक अध्यादेश, विनियोजित अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश पेश गरेका  हुन् । ती अध्यादेशबारे असोज ३ गतेभित्र छिनोफानो गर्नुपर्ने भएकाले संसद्को अधिवेशन आह्वानका लागि गृहकार्य भएको हो ।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले अधिवेशनको मितिका सन्दर्भमा सरकारले निर्णय गर्ने हुँदा बजेट, अध्यादेशलगायत विषयमा समान्य परामर्श भए पनि कुनै निर्णय नभएको जानकारी दिए ।