• बैशाख २७ २०८३, आईतवार

मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

भाद्र १४ २०७८, सोमबार

अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध जनाएको छ । सो संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा आज जारी विज्ञप्तिमार्फत् यस्तो विरोध जनाइएको हो ।

जनताको ढाड सेक्ने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ताका लागि नेपाल सरकार, नेपाल आयल निगमसँग सो संगठनले अपील गरेको छ ।

सो संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नगरेमा त्यसका विरुद्ध सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिएको छ ।

‘शिक्षा र स्वास्थ्यमा भएका सबै प्रकारका विकृति र विसङ्गतिको अन्त्यका साथै राष्ट्रियता, जनतन्त्र र जनजीविका सुनिश्चितताको निम्ति निरन्तर सङ्घर्षरत रहेको कुरा सर्वविद्वितै छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक तर्फ)मा प्रतिलिटर २–२ रुपैयाँको दरले र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ)मा १६ अमेरिकी डलर प्रतिकिलोलिटर र खाना पकाउने एल.पी. ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएको छ ।

शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले कोभिड–१९ बाट प्रताडित नेपाली जनतालाई राहत दिनु त परै जाओस् उल्टै फेरि पेट्रोलियम पार्थको मूल्यवृद्धि गरेको छ । कोभिड–१९ विरुद्धको खोप आम जनतालाई उपलब्ध गराउने सवालमा सरकारको गैरजिम्मेवार बन्ने तर जनताको ढाड सेक्ने गरी मूल्यृद्धि गर्ने कार्यको हाम्रो सङ्गठन घोर निन्दा एवम् विरोध गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ । संगठनले मूल्यवृद्धि विरुद्ध सशक्त सङ्घर्षमा उत्रन विद्यार्थी, अभिभावक, शिक्षक, मजदुर, किसान, युवालगायत आम जनसमुदायलाई हार्दिक अपिल पनि गरेको छ ।