• बैशाख २७ २०८३, आईतवार

कृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश

भाद्र १४ २०७८, सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिँदै विश्व भरका हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको स्मरण गरिन् ।

द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्णअष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ ।

राष्ट्रपतिले सन्देशमा भनेकी छिन् “यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने अपेक्षा लिएको छु ।”