• बैशाख २७ २०८३, आईतवार

दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले बुझाए प्रजिअलाई चाबी

भाद्र १३ २०७८, आईतवार

काठमाडौँ। दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीलाई चाबी बुझाएका छन्।

आइतबार पराजुलीलाई भेटेर उनीहरुले आफूहरुको व्यवसाय सञ्चालन गर्न सरकारले चासो नदिएको भन्दै चाबी बुझाएका हुन्।

‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो यस रात्रीकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकारले कुनै चासो देखाएको पाइएन त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भविष्यको जिम्मा नै सरकारलाई सुम्पिनको निमित्त व्यवसायको चाबीसहित यहाँ उपस्थित भएका छौं’ व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको पत्रमा भनिएको छ ।

कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले गत चैतमा सबै व्यवसाय र आवतजावत बन्द गर्ने गरी निषेधाज्ञा लगाएको थियो । तर संक्रमितको संख्या घट्दै गएपछि अरु क्षेत्र खुले पनि दोहोरी साँझ र रात्रीकालीन व्यवसाय भने हालसम्म बन्द छ । व्यवसायीहरुले घरभाडा, व्यवसाय घर, बैंकको ऋणलगायतको आफूहरुको दायित्वको जिम्मा लिन पनि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।