• फाल्गुन २८ २०८२, बिहीबार

ओलीको अत्याचार सहँदै आयौँ, अध्यक्ष भएदेखि नै हामीमाथि अन्याय गरेका थिए : माधव नेपाल

भाद्र १३ २०७८, आईतवार

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीविरुद्ध लामो समयदेखिको संघर्ष गर्दै आएको बताएका छन्।
आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले एमाले अध्यक्ष ओलीविरुद्ध लामो समयदेखिको संघर्ष गरेको र संघर्षकै कारण नेकपा (एकीकृत समाजवादी) पार्टी जन्मिएको बताए।

उनले ओलीको अत्याचार धेरै सहेको बताए। ‘ओलीको अत्याचार सहँदै सहँदै आयौँ ‘, उनले भने, ‘बजेट बाँडफाँटमा पनि विभेद गरे। ओलीले अध्यक्ष भएदेखि हामीमाथि अन्याय गरिरहे।’

तर, आफूहरुले ओलीलाई सुधार्न नसकेको पनि उनले बताए। ‘ओली सुध्रिन सकेनन्, सुध्रनु भन्दा पनि मानेनन्’, उनले भने, ‘पार्टीको भविष्य के होला भनेर चिन्ता थियो। न्यायका लागि लड्ने हामीहरु आफ्नै लागि लड्नुपर्यो।’

उनले आफूहरुले निकै लामो समयदेखि संसद र पार्टी दुवैतिर संघर्ष गरेको बताए । पुनर्गठित पार्टी नेकपा एकीकृत समाजवादी बलियो शक्तिका रुपमा उदाएको उनको भनाइ छ।

‘पुनर्गठित पार्टी नेकपा एकीकृत समाजवादी बलियो शक्तिका रुपमा उदाएको छ’ उनले भने,’हामीले निकै लामो समयदेखि संसद र पार्टी दुवैतिर संघर्ष गरेका थियौँ। केपी ओलीजीका गलत व्यक्तिवादी विचार र दृष्टिकोणविरुद्ध संघर्ष गरेका थियौँ।’