• मंसिर १२ २०८१, बुधबार

डेल्टा भाइरस विरुद्धको चिनियाँ खोप ८२ प्रतिशत सफल भएको दावी

भाद्र १२ २०७८, शनिबार

काठमाडौं । चीनमा प्रयोग भइरहेको एउटा कोरोनाभाइरस विरुद्धको खोप क्लिनिकल परीक्षणमा ८२ प्रतिशत प्रभावकारी रहेको पाइएको सो कम्पनीले दाबी गरेको छ ।

चोङकिङ झिफेइ बायोलिजकल प्रोडक्टले बनाएको खोप प्रारम्भिक परीक्षणमा निकै सङ्क्रामक मानिएको डेल्टा भेरियन्ट विरुद्ध पनि ७८ प्रतिशतसम्म प्रभावकारी पाइएको छ ।

कम्पनीले बुझाएको यो पहिलो तथ्यांक हो तर यसमा विस्तृत पीयर रिभ्यू तथ्यांक भने उपलब्ध छैन । यसलाई तीन डोजमा दिइने जीएफ २००१ नाम दिइएको यो खोपलाई बजारमा लैजानका लागि अनुमति प्रदान गर्ने पहिलो कदमको रुपमा हेरिएको छ ।

यसलाई गत मार्चमा चीनमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको थियो । यसको प्रयोग उज्बेकिस्तानमा पनि भइरहेको छ ।
पछिल्लो चरणको तथ्यांक २८ हजार ५०० जनामा गरिएको तेस्रो चरणको परीक्षणको मूल्याङ्कनको आधारमा प्रस्तुत गरिएको हो ।

यो परीक्षण उज्बेकिस्तान, पाकिस्तान, इन्डोनेसिया, इक्वेडोर र चीनको हुनान प्रान्तमा गरिएको कम्पनीले जनाएको छ ।