• बैशाख २७ २०८३, आईतवार

आज पनि देशका विभिन्न स्थानमा भारी वर्षा

भाद्र १२ २०७८, शनिबार

काठमाडौं ।   आज पनि देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो चार वटा प्रदेशमा भारी वर्षा तथा राति छ वटा प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

दिउँसो प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भाबना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

सोमबारसम्म नै देशका केही स्थानमा वर्षाको सम्भाबना रहे पनि अब लगातारको झरी भने कम हुने मौसमविद् मीनकुमार अर्यालले जनाएका छन् ।

वर्षा गराउने मनसुनी प्रणाली केही कमजोर हुँदै जाने भएकाले आजदेखि लगातार झरी पर्ने क्रम पनि कम हुने उनले जनाएका छन् ।

‘पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ ।