काठमाडौं । नेपाल धितोपत्र बोर्डको सदस्यबाट चन्द्र ढकालले राजीनामा दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य बनेका ढकालले सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा विवादमा तानिएपछि पदमा बस्न नचाहेको भन्दै राजीनामा दिएका हुन् ।
आफूले महासंघमार्फत नै धितोपत्र बोर्डबाट राजीनामा दिएको ढकालले बताए । आज बुधबारकै मितिबाट लागू हुने गरी उनले राजीनामा दिएका हुन् ।
महासंघ अध्यक्ष शेखर गोल्छालाई पत्र लेखेको जानकारी दिइएको छ। महासंघको तर्फबाट अर्को व्यक्ति पठाउन उनले अध्यक्ष गोल्छालाई आग्रह गरेका छन्।
सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि मुछिएका थिए । उनले हिजो मात्रै राजीनामा दिएका थिए । उक्त प्रकरणमा ढकालको नाम पनि जोडिएको थियो ।