काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको रक्षाको लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाँडै नै सरकारमा सहभागी हुने बताएका छन्।
जसपाको सात वटै प्रदेशमा आह्वान गरिएको प्रदेशस्तरीय पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बुधबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘संघीय गणतन्त्र, सामाजिक न्याय, जनताको आधारभूत आवश्यकता, न्यूनतम साझा कार्यक्रम र जसपाको एजेन्डालाई मुख्य आधार बनाएर आगामी हप्ताभित्रै सरकारमा सहभागी हुन्छौं।’
त्यस्तै अर्को प्रसंगलमा यादवले केही बेइमानहरूले जसपाले थालेको लडाइँको मैदान छाडेर ओलीकै टाङ्गमुनि छिर्ने काम गरेको टिप्पणी गरे।
‘महन्थ ठाकुर एण्ड कम्पनी ओलीकै असंवैधानिक र अवैध कदमको साथ लागेर मन्त्री हुन गए र समाप्त भए। हिजो पनि उनीहरूको दाउ मन्त्री मात्र बन्ने थियो, आज पनि त्यही चरित्र देखिँदैछ। महन्थलाई प्रधानमन्त्री बनाउँछु भनेपछि मानेका थिए। कांग्रेस पनि सकारात्मक थियो। त्यो सम्भव थियो। तर महन्थ हस्ताक्षर गरेको २ घण्टामै सहमति तोडेर भागे। अरूको इशारामा ओली पथमा लाग्दा आज बेहाल भयो। आज निर्वाचन आयोगमा गुट दर्ता गर्न पुगेका ठाकुर समूहबाट मधेसको मुद्दा पार लाग्छ भन्नू भ्रम सिवाय अरु होइन’,
निर्वाचन आयोगले दिएको आधिकारिताको हिसाबले जसपा फुटेको नभई प्रतिगमनका केही मतियारहरू भागेको टिप्पणी गर्दै उनले भने – ‘युद्ध र अभियानमा हिँड्दा केही कमजोरहरू बाटोमै छोडिएका छन्। पूर्व राजपाका ९० प्रतिशत नेता कार्यकर्ता आज पनि जसपामै छन्।’
‘८० प्रतिशत केन्द्रीय सदस्य जसपाको बैठकमा सहभागी छन्। रुखको बोक्रा सुकेर उप्किएकोमात्रै हो। पार्टी फुटेको छैन’,