• फाल्गुन २८ २०८२, बिहीबार

जयसिंह धामी हत्या र मूल्यवृद्धी विरुद्ध नेकपाले गर्यो प्रदर्शन (तस्विर सहित)

भाद्र ९ २०७८, बुधबार

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीमा एक विरोध प्रदर्शन गरेको छ । हालै सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिका साथै दार्चुलाको ब्यासमा भारतीय सीमा सुरक्षा बलले तुइन काटेर नेपाली युवा जयसिंह धामीको हत्या गरेको विरोध गर्दै नेकपाले प्रदर्शन गरेको हो ।

राजधानीको शान्तिबाटिकामा जम्मा भएर नेकपाका नेता तथा कार्यकर्ताहरुले जुलुशसहित विरोध प्रदर्शन गर्दै भोटाहिटी, असन, नयाँ सडक, सुन्धारा, शहीदगेट, भद्रकाली, भृकुटीमण्डप लगायतका स्थानहरु परिक्रमा गर्दै शान्तिबाटिकामै आएर विरोधसभा सम्पन्न गरेका थिए ।

विरोध सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले छिमेकी देशका सुरक्षाकर्मीहरुले आफ्नो नागरिकको हत्या गर्दा समेत नेपाल सरकार उनीहरुसँगै लाचार बनेको आरोप लगाए । भारतीय सुरक्षाकर्मीले तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको हत्या भएको यतिका दिन बित्दा समेत सरकार चुप लागेर बस्नु भनेको अचम्म भएको उनले बताए ।

विप्लव नेतृत्वको नेकपाले राजधानीमा गरेको विरोध प्रदर्शन

उनले भने, ‘आफ्ना देशका नगरिकलाई बिदेशीहरुले बिनाकारण मृत्युको मुखमा धकेल्दा समेत सरकारले न्यायको आवाज उठाउन नसकेर आँखा चिम्लेर अन्धो बनेको नाटक गरेको छ ।’ सडकमा वा सदनमा कसले चर्का कुरा गर्यो, त्यो ठूलो कुरा नभएर नेपाली नागरिकमाथि भारतीय सुरक्षाकर्मीका जवानले गरेको अपराध र उनीहरुलाई अपराधी करार गरेर जयसिंह धामीलाई न्याय दिलाएर भारतको हस्तक्षेपकारी भूमिकाको अन्त्य गर्ने कुरा नै ठुलो कुरा भएको उनको भनाइ थियो ।

छिमेकीले आफ्ना नागरिकको ज्यान लिंदासमेत हाम्रो नेपालका शासकहरुले ‘छिमेकीको मन दुखाउनु हुँदैन’ भनेर अभिव्यक्ति दिनु भनेको सरकारको लाचारिपन भएको उनको भनाइ थियो ।

विप्लव नेतृत्वको नेकपाले राजधानीमा गरेको विरोध प्रदर्शन

प्रदर्शनपछि गरिएको विरोध सभालाई सम्बोधन गर्दै लामाले अगाडि भने– ‘ठुलाठालूहरुलाई सुविधा दिन सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।’ अन्तर्राष्ट्रिय बजारमा सस्तो भएको बेला नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको ढाड सक्ने काम गरेको आरोप उनले लगाए ।

अन्तर्राष्ट्रिय बजारसँग समायोजन गरेको खण्डमा अहिले पेट्रोलको मूल्य नेपालमा ७० रुपैयाँ मात्रै हुन आउने तथ्याङ्क प्रस्तुत गर्दै लामाले स्वयम् भारतमा समेत पेट्रोलियम पदार्थको मूल्य घटेको समयमा नेपालमा यसको मूल्य बढाएकोमा आक्रोश व्यक्त गरे । नेपाल आयल निगमका हाकिमहरुले आफूहरुले करौडौं रकम बोनस खाएर निगमलाई घाटामा देखाएको उनले बताए । जनताबाट चर्को मूल्य असुलेर देशका ठुलाठालूहरुलाई अरबौं मूल्यको तेल सरकारले निशुल्क बाँडिरहने गरेको हुनाले जनताले यस्तो जनविरोधी व्यवस्थाको विकल्प खोजेको धारणा व्यक्त गरे ।

नेकपाले राजधानीमा गरेको विरोध प्रदर्शन

आफूमाथि शासन गर्ने व्यवस्था कस्तो बनाउने भनेर जनताले नै छान्न पाउनुपर्ने उल्लेख गर्दै नेता लामाले आफ्नै पार्टीको नेतृत्वमा संयुक्त सरकार बनाएर जनताले आफ्नो व्यवस्था आफै छान्ने गरेर जनमत संग्रह गर्नुपर्ने धारणा व्यक्त गरे । आफ्नो पार्टीको नेतृत्वमा अरुलाई मान्य नभए अरु कुनै फ्रगतिशील व्यक्ति तथा शत्तिको नेतृत्वमा बन्ने संयुक्त सरकारमा पनि आफ्नो पार्टी सामेल भएर जनमत संग्रह गर्न आफ्नो पार्टी तयार रहेको जिकिर नेता लामाले गरे ।

उनले भने– ‘नेपाली जनतालाई मुक्त गराउने सही राजनीतिक बाटो भनेको जनमत संग्रह र वैज्ञानिक समाजवाद नै हो ।’ सरकारसँग गरेको तीनबुंदे सहमतिमा आफ्नो पार्टी दृढ रहेको तर सरकारले जेल र हिरासतमा रहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई रिहा नगरेर तीनबुँदेबाट भाग्न खोजेको आरोप समेत उनले लगाए ।

हेरौं नेकपाले गरेको विरोध प्रदर्शन र सभाका थप केही तस्बिरहरु⇓

नेकपाले राजधानीमा गरेको विरोध प्रदर्शनका तस्बिर
नेकपाले राजधानीमा गरेको विरोध प्रदर्शनका तस्बिर
नेकपाले राजधानीमा गरेको विरोध प्रदर्शनका तस्बिर
नेकपाले राजधानीमा गरेको विरोध प्रदर्शनका तस्बिर
नेकपाले राजधानीमा गरेको विरोध प्रदर्शनका तस्बिर
नेकपाले राजधानीमा गरेको विरोध प्रदर्शनका तस्बिर
 नेकपाले राजधानीमा गरेको विरोध प्रदर्शनका तस्बिर
नेकपाले राजधानीमा गरेको विरोध प्रदर्शनका तस्बिर