• बैशाख २७ २०८३, आईतवार

भक्तपुरको एक गेस्टहाउसमा ‘होक्स’ बम फेला, एक जना पक्राउ

भाद्र ६ २०७८, आईतवार

भक्तपुरको दिव्येश्वरी गेस्ट हाउसमा होक्स बम फेला परेको छ । घटनामा संग्लन एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाँउपालिका–२ का ३२ वर्षीय नवीन तामाङ रहेका छन् ।

शनिबार साँझ मध्यपुर ठिमी नगरपालिका ४ को दिव्यश्वरी गेस्ट हाउसमा एक व्यक्तिले बम राखेको भन्दै हो हल्ला भएको थियो।

शिवशरण भुजुले सञ्चालन गरेको दिव्येश्वरी गेस्ट हाउसको पहिलो तलाको ४ नम्बर कोठामा पुरानो कुकरमा नांगो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद् वस्तु फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले गए राति शंकास्पद् वस्तुलाई निस्क्रिय पार्दा विस्फोटक पदार्थ फेला नपरेको, होक्स बम भएको उक्त कुकरभित्र ब्याट्री तार राखी बिजुलीको प्लगमा जोडेको पाइएको थियो ।

प्रहरीका अनुसार दिव्येश्वरी गेस्ट हाउसले तामाङसँग उनले खाएको, बसेको ४० हजार रुपैयाँ पटक–पटक मागेको तर पैसा नभएकाले गेस्टहाउस सञ्चालकलाई तर्साउन तामाङले आफ्नै घरबाट ल्याएको प्रेसर कुकरलाई होक्स बम बनाएर गेस्ट हाउसमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।