• फाल्गुन २८ २०८२, बिहीबार

म एमालेमै छु, अन्य प्रचार-प्रसारमा सत्यता छैन : वामदेव गौतम

भाद्र ६ २०७८, आईतवार

काठमाडौँ। नेकपा (एमाले)का नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताएका छन्।

गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्दै विभिन्‍न सञ्‍चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको चर्चा झुटो भएको उनको सचिवालयले जनाएको छ।

‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ। नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन,’ ‘क. गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले)को नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो। तसर्थ, अन्य खाले प्रचार-प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु।’ गौतमको सचिवालयले  जारी गरेको विज्ञप्तिमा भनिएको छ।