बुटवल । नेकपा एमालेले कारबाही गरेको लुम्बिनी प्रदेशका सांसद तथा बिनाविभागीय मन्त्री अजय शाहीले आफू स्वतन्त्र भएको दाबी गरेका छन् ।
उनले एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टीकरण माग गरेको र प्रदेश सभा सदस्यबाट समेत निष्कासन गर्न कारबाही प्रक्रिया अगाडि बढाएको कुरा कानूनी र राजनीतिक रूपमा कुनै औचित्य नरहेको बताए ।
शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै शाहीले निर्वाचनमा हृदयेश त्रिपाठीको नेतृत्वमा रहेको तत्कालीन स्वतन्त्र समूह र नेकपा एमालेबीच ०७४ असोज १६ गते भएको राजनीतिक सम्झौता अनुसार सूर्य चिन्हको प्रयोग गरी स्वतन्त्र रूपमै चुनाव जितेको दाबी गरे ।
नवलपरासीबाट चुनाव जितेका सांसद शाहीले भने, ‘मैले चुनावमा मात्रै चिन्ह लिएको हो, नैतिक र राजनीतिक रूपमा म स्वतन्त्र छु । मैले नेकपा एमालेको सदस्यता लिएको छैन केवल चुनावी सम्झौता मात्रै थियो ।’
शाहीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २९ अनुसार एमाले संसदीय दलको सदस्य नभएको स्पष्ट पारे । यस्तै, नेकपा एमाले लुम्बिनीले प्रदेशसभा विधि र कानून सम्वत नचलेसम्म प्रदेश सभा अवरूद्ध गरिरहने बताएको छ ।