• फाल्गुन २८ २०८२, बिहीबार

अष्टलक्ष्मी शाक्यले भनिन् – म मुख्यमन्त्री हुनुमा दुवै नेताहरूको साथ छ

भाद्र ५ २०७८, शनिबार

काठमाडौँ। बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेकी छन्।
नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ पनि सिंगो पार्टीपंक्तिको ध्यानाकर्षण गराइन्।

उपाध्यक्ष शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिरबाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि आग्रह गरिन्।

‘म मुख्यमन्त्री हुनुमा दुवै नेताहरुको साथ छ। सहमति छ। अनि बाहिरबाहिर कुरा आउँछ, अष्ट त के-के भयो, के-के भनेर। लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नु भयो, यो गलत कुरा हो,’ उनले भनिन्, ‘गलत सन्देश दिने काम नगरीदिनुहोस्। जे छ, त्यही कुरा बाहिर आयो भने त्यसले पार्टी एकताका लागि हौसला बढाउँछ, प्रेरणा मिल्छ। मान्छेलाई एकताका लागि यसरी जानुपर्ने रहेछ भन्ने तय हुन्छ।’

उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्नेबित्तिकै एमाले एकजुट भएर अघि बढ्ने विश्वास समेत व्यक्त गरिन्।

उनले आफूहरु एकताकै पक्षमा रहेको दोहोर्‍याइन्। ‘मलाई दृढ विश्वास छ- केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढ्नेछ। त्यसका लागि १० बुँदे प्रस्तावलाई उच्च मूल्यांकन गरेर अगाडि बढाउन हाम्रो नेतृत्वले मन फराकिलो बनाएर नेकपा एमालेलाई बलियो बनाउन चाहन्छु भन्नुभयो भने स्थिति उथलपुथल हुन्छ। त्यसैले पार्टीलाई कमजोर बनाउने काम नगरौं,’ उपाध्यक्ष शाक्यले भनिन्।