काठमाडौँ। जापानबाट शनिबार अष्ट्राजेनेकाको थप २ लाख ८ हजार ६० डोज खोप काठमाडौँ आइपुगेको छ । जापान सरकारले अनुदानमा नेपाललाई दिएको १६ लाख खोपमध्येकै २ लाख ८ हजार ६० डोज खोप शनिबार बिहान काठमाडौँ आइपुगेको होे ।
कतार एयरलाइन्समार्फत खोप ल्याइएको स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार यसअघि अस्ट्राजेनेकाको पहिलो खोप लगाएर पखाइमा रहेका ६५ वर्षमाथिकालाई यो खोप लगाइनेछ ।
यसअघि जापानबाट ८ लाख ४७ हजार ३२० खोप नेपाल भित्रिसकेको छ । बाँकी खोप भने सोमबारसम्ममा नेपाल आइपुग्ने जनाइएको छ । जापानले को–भ्याक्स कार्यक्रममार्फत नेपाललाई उक्त खोप दिएको हो ।