• बैशाख २७ २०८३, आईतवार

खाजा खाइरहेको भिडियो अनुमतिबिना खिच्ने ३ युटुबर पक्राउ

भाद्र ५ २०७८, शनिबार

झापा । व्यक्तिको चरित्र हत्या हुनेगरी भिडिओ खिचेको आरोपमा प्रहरीले युट्युबरसहित तीन जनालाई पक्राउ गरेको छ । घटना झापाको हो ।

होटलमा खाजा खाँदै गर्दा युट्युबरले अनुमतिबिना कोठा भित्र प्रवेश गरी भिडिओ खिचेको आरोपमा प्रहरीले तीन जनालाई शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

गत मंगलबार राति आठ बजे बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित सिमाना होटलको कोठामा खाजा खाँदै गर्दा युट्युबर खगेन्द्र घिमिरे लगायत केही व्यक्तिहरू त्यहाँ पुगेका थिए ।

उनीहरू एक्कासी होटलभित्र अनाधिकृत रूपमा प्रवेश गरी, गालीगलौज गरी बिना अनुमति भिडिओ बनाएका थिए । त्यसरी भिडिओ खिचेर खगेन्द्रले युट्युबमा हालेका थिए ।

शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी परेपछि अभद्र व्यवहारको मुद्दामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले युट्युबर घिमिरे, हेमराज भट्टराई र सुवास कार्कीलाई पक्राउ गरेको हो । यसमा संलग्न थप व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।