• फाल्गुन २८ २०८२, बिहीबार

महन्थ ठाकुर १२ दिनपछि पुन : अध्यक्षमा चयन

भाद्र ४ २०७८, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) आधिकारिक मान्यता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि महन्थ ठाकुर पक्ष पार्टीविहीन हुन पुगेको थियो । पार्टीविहीन अवस्थामा पुगेपछि महन्थ पक्षले जसपाको आधिकारिकता आफूले आउनुपर्ने भन्दै सर्वोच्च अदालतमा पुग्यो । तर, सर्वोच्चले निर्वाचन आयोगकै निर्णयलाई सदर गरेपछि महन्थ पक्ष पार्टीविहीन हुन पुग्यो ।

गत असार ११ गते निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेपछि महन्थ पक्षलाई कानुनी तथा वैधानिक संकट परेको थियो । यद्यपि उसलाई नयाँ पार्टी खोल्ने वा जसपाभित्रै रहने भन्ने विकल्प खुल्ला भएको थियो । तथापि नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराएको खण्डमा महन्थ पक्षमा उभिने सबै सांसद कानुनी रूपमा पदमुक्त हुने वैधानिक अड्चनका कारण उसले त्यसो गर्न सकिरहेको थिएन ।

राजनीतिक दलसम्बन्धी ऐनमा दल त्याग गरेको सूचना दिनासाथ पदमुक्त हुने व्यवस्था गरिएको छ । संविधान तथा कानुनीविद्का अनुसार जसपामै रहेको खण्डमा सांसद पद जोगिने व्यवस्था छ । तर, नयाँ दल दर्ता गरि सोही दलमा आवद्ध भए स्वतः पद खारेज हुन्छ । यही बुझेर महन्थ पक्षका सांसद पद जोगाउने तिर लागेका थिए । प्रतिनिधि सभा र केन्द्रीय कार्यकारिणी समितिमा ४० प्रतिशत संख्या पुर्याएमा मात्र महन्थ पक्षले आफ्ना सांसद जोगाउन सक्थे । यद्यपि उसले उक्त संख्या पुर्याउन भने सकेको थिएन ।

त्यसपछि संयुक्त गठबन्धन नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि । मंगलबार सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरि अनुमोदनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएको थियो । राष्ट्रपति भण्डारीले बुधबार उक्त अध्यादेश अनुमोदन गरेपछि दल विभाजन गर्न सहज भएको छ । केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए दल विभाजन गर्न विभाजित साना समूहलाई सहज भएको हो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुनैपर्ने उल्लेख थियो । उक्त ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने भनी व्यवस्था गरिएको छ ।

यही व्यवस्थामा टेकेर महन्थ ठाकुरले आफ्नो अध्यक्षतामा आज (शुक्रबार) निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएका छन् । यद्यपि हिजो (बिहीबार) उनले दल दर्ता गरेपनि आयोगले उक्त दललाई मान्यता दिएको थिएन । सर्वोच्च अदालतले यसअघिको फैसलामा नयाँ दल दर्ता गर्दा कुनैपनि पनि पार्टीसँग नाम जुधाएर अन्य विशेषण राख्न नमिल्ने भनेको थियो । सोही अनुसार आज नयाँ नाम परिवर्तन गरिएको हो ।

यसअघि प्रस्ताव गरिएको जसपा लोकतान्त्रिक पार्टीमा जसपा शब्द मूल पार्टीसँग मिलेका कारण निर्वाचन आयोगले दर्ताका लागि अस्वीकार गरेको थियो । त्यसपछि महन्थले आज नयाँ दल अर्थात् लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ता गराएका छन् । यो सँगै महन्थ ठाकुर नयाँ पार्टीको अध्यक्षमा पुनः चयन भएका छन् । यसअघि पार्टी आधिकारिकता गुमाउनु पहिले उनी जसपा पहिलो वरियकताका अध्यक्ष थिए । महन्थले साउन ११ गते पार्टी आधिकारिकता गुमाएसँगै साउन २५ गते अध्यक्ष पद पनि गुमाएका थिए । उनी नयाँ दलको अध्यक्षमा चयन भएसँगै १२ दिनपछि फेरि अध्यक्षमा चयन भएका छन् ।