हेमन्त वली, दाङ ।
दाङमा एक जोडीले अन्तरजातीय विहे गरेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१९ संक्राम निवासी हर्कबहादुर वली र सोही नपा कुइरेताल निवासी सीता सुनारले भाद्र २ गते अन्तरजातीय विवाह गरेका हुन् ।
यस्तो प्रकारको विहे प्रणालीलाई प्रगतिशील तथा जनवादी विहे भनिन्छ । कम्युनिस्ट सिद्धान्तबाट प्रेरितहरुले यस्तो प्रणालीका आधारमा विहे गर्ने गर्दछन् ।
नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीको आयोजनामा सो विवाह कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सो पार्टीका विशेष समिति सेक्रेटरी सुन्दरले पुरानो संस्कृतिमा रहेका अवैज्ञानिक परम्परालाई निस्तेज गरी नयाँ र वैज्ञानिक आधारमा यस्ता संस्कारहरुलाई विकास गर्नुपर्ने धारणा राखे ।
नेता सुन्दरले प्रगतिशील विवाह मार्फत् क्रान्तिकारी संस्कृति निर्माण गर्न पहलकदमी लिने दुबै नवविवाहित जोडिलाई बधाइ दिए ।
दुलाहाका माइला बुवा धनजित वलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा तुलसीपुर उपमहानगर कमिटी इञ्चार्ज विकास, तुलसिपुर उपमहानगर वडा नं १८–१९ का इञ्चार्ज मदन, नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि मानवहादुर वली, नेकपा शिक्षक कर्मचारी विशेष समिति सदस्य द्वय विभिणण रोका र नरबहादुर रोकाको पनि आतिथ्यता रहेको थियो ।
सबै अतिथिले नवविवाहित जोडिलाई बधाइ दिँदै वैवाहिक जीवनको सफलताको शुभकामना दिएका थिए ।