काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दल विभाजनसम्बन्धी अध्यादेश लोकतन्त्र र संविधानको रक्षाका लागि रहेको बताएका छन् ।
उनले अहिले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको उद्देश्य लोकतन्त्र र संविधानको रक्षाका लागि भएको जिकिर गरे । उनले भने, “पहिले ल्याएका अध्यादेश लोकतन्त्र र संविधान सिध्याउने उद्देश्यले ल्याइएका थिए, अहिलेको अध्यादेश लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षाका लागि ल्याइएको हो ।”
समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तक्रियामा अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका विषयमा हिजोबाट नयाँ परिस्थिति बनेको बताउदै आज बिहानै आफू सहित प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपाल बसेर छलफल गरेको बताउदै मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउने सहमति भएको बताए ।
उनले भने, “आज बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बसेका थियौँ, अब ढिलो गर्नुहुँदैन, छिटो टुङग्याउनुपर्छ भनेका छौँ । हिजो दर्ता भएको पार्टीको सनाखत टुङ्गिने वित्तिकै मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ ।”