• फाल्गुन २८ २०८२, बिहीबार

एमाले विभाजित भएको होइन, चोइटो उछिट्टिएको हो : ओली

भाद्र ३ २०७८, बिहीबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित नभइ चोइटो उछिट्टिएको टिप्पणी गरेका छन् । एमाले विभाजित भएको भोलिपल्ट प्रतिक्रिया दिँदै उनले भने, ‘टुक्रिनु र विभाजित हुनु फरक कुरा हो। एमालेबाट अलिकति चोइटो उछिट्टिएको हो।’

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा ओलीले वरिष्ठ नेता माधव नेपालले नेकपा एमाले (समाजवादी) दर्ता गर्नु उनकै विवेकको कुरा नभएको बताउदै ओलीले बाह्य शक्तिले एमाले फुटाएको उल्लेख गरे।

उनले भने, ‘एउटा चुम्बकका दुई पोल एक ठाउँ आउँदैनन्। यहाँ त्यस्तो पोलहरु एकै ठाउँ ल्याइएको छ। बढी बलवान शक्ति भए त्यहाँ ल्याउँछ। बलका अघि कुनै बन्धनको केही लाग्दैन। नेपाललाई छुटाउने गरीको तागत लागेपछि उनको केही नलागेर फुटाएका हुन्।’

एकताबद्ध राख्न आफूले अनेक कोशिस गर्दा पनि पार्टी फुटेको उनको दाबी थियो । उनले आफूले ५१ वर्षअघिबाट पार्टी एकता गर्न सुरु गरेर नेकपासम्म बनाएको जिकिर गरे।

उनले भने ‘पार्टी एकताबद्ध राख्ने कोशिसै गरेन भन्ने कुरा सही होइन, ५१ वर्षअघि जति कम्युनिष्ट पार्टी ससाना टुक्रामा थियो। पार्टी जस्तो एउटा पनि पार्टी थिएन। त्यही बेला एकताको आन्दोलन सुरु गरेको थिएँ।’