• बैशाख २७ २०८३, आईतवार

अध्यादेशमा अभिव्यक्त नेपाली ‘कटप्पाहरु !’

भाद्र १ २०७८, मंगलवार

चर्चित तमिल फिल्म ‘बाहुबली’मा अपराजेय सेनापति छन्, ‘कटप्पा !’ उनको निधारमाथि पुछेर नपुछिने कलंक छ, ‘गद्दी का गुलाम !’ नेपालको राजनीतिमा अहिले यस्ता ‘राजनीतिक कटप्पा’ एकपछि अर्को गरी उदय हुन थालेका छन् ।

जो सरकारमा पुग्छ, यसले आफूलाई अजम्मरी ठान्छ । उसका लागि प्रधानमन्त्रीको गद्दी सदाको लागि प्राप्त भएको अहम्ता र अहंकारले निर्देशित गर्न थाल्छ । सोच र अर्जुन दृष्टि केवल एउटै कुुरामा केन्द्रित हुन जान्छ, कुर्सी कसरी जोगाउने ?

विश्वासको मतअनुसार काम गर्न सकिएन, कसैले राजीनामा दिंदैन । अल्पमत देखा परेमा राजीनामा दिंदैन । बरु उसले के गरी गद्दी वा कुर्सी जोगाउन संभव देख्छ, त्यही गर्छ । प्रधानमन्त्री गद्दीको गुलाम अर्थात् कटप्पा बन्न पुग्छ ।

अहिले प्रम देउवा गद्दीमा रहँदा २० प्रतिशत सांसद वा केन्द्रीय समितिका सदस्य पुर्याए पार्टी फुटाउन पाउने प्रावधान मन्त्रीपरिषदबाट पारित हुन पुगेको छ ।

यो प्रावधान नौलो होइन । आजभन्दा एक वर्षअघि तात्कालीन प्रम केपी ओली हुँदा पनि यही काम गरेका थिए । पार्टी फुटाऊ, गद्दी जोगाऊ । त्यति बेला पनि रातारात नेता तथा सांसद सरकार स्वयम्ले अपहरण गरेर राजधानी काठमाडौंमा बन्दी बनाएको थियो । संसद बन्द थियो ।

प्रम ओली समयक्रमसँगै सत्ताच्युत भए । तर गद्दी देउवाको पोल्टामा पर्न गयो । ओलीको अध्यादेशको धुँवाधार विरोध गरेका देउवा अहिले चालु संसदको अन्त्य गरी अध्यादेशमार्फत् उही पार्टी फुटाउने प्रक्रियामा लिप्त हुन पुगेका छन् ।
आखिर यो सबै कुराको कारक भनेको ‘गद्दी का गुलाम’ मानसिकता नै हो । कटप्पा प्रवृत्तिको अन्त्य नहुँदासम्म ‘महायुष्मती साम्राज्य’का रुपमा रहेको नेपालमा कटप्पाहरुको एकपछि अर्को जन्म र चलखेल रहिरहने चिन्ताले नेपालीलाई आक्रान्त बनाइरहेको छ ।