काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएसँगै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई पार्टीविहीन अवस्थामा पुर्याइ दियो । पार्टीबिहीन भएपछि जसपा आधिकारिकता आफूले पाउनु पर्ने दाबी गर्दै महन्थ पक्ष सर्वोच्च अदालतमा पुग्यो । तर, सर्वोच्चले निर्वाचन आयोगकै निर्णयलाई अगाडि बढाएपछि महन्थ पक्ष हाल पार्टीबिहीन अवस्थामा छ ।
गत असार ११ गते निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र पक्षलाई जसपाको आधिकारिकता दिलाएपछि महन्थ पक्ष अन्योलमा परेको छ । यद्यपि आयोगले जसपा आधारिकता उपेन्द्र पक्षलाई दिएपछि महन्थ पक्षले नयाँ पार्टी निर्माण गर्ने वा जसपाभित्रै रहने विकल्प भने अहिले पनि खुल्लै छ । तर, उसले नयाँ पार्टी निमौण गर्ने उद्देश्य लिएको महन्थनिकट नेता बताउँछन् । यद्यपि नयाँ पार्टी निर्माण गर्ने सन्दर्भमा हालसम्म महन्थ पक्षले आधिकारिक निर्णय भने गर्न सकेको छैन ।
उसले नयाँ पार्टी दर्ता प्रक्रियालाई अघि बढाउन नसक्नुको कारण कानुनी उल्झन कायमै छ । यदि महन्थ पक्षले यो बीचमा पार्टी दर्ता गराए उनका सांसदहरूको पद खुस्किने । यही काुनुनी बाधाका कारण उसले त्यसो गर्न सकिरहेको छैन । किनकि राजनीतिक दलसम्बन्धी ऐनमा दल त्याग गरेको सूचना दिनासाथ पदमुक्त हुने व्यवस्था गरिएको छ । संविधान तथा कानुनीविदका अनुसार जसपामै रहेको खण्डमा सांसद पद जोगिने सक्छ । तर, नयाँ दल दर्ता गरि सोही दलमा आवद्ध भए उनीहरूको पद स्वतः खारेज हुन्छ । यही बुझेर महन्थ पक्षका सांसद पद जोगाउनकै लागि तत्काल नयाँ दल दर्ता गर्ने पक्षमा छैनन् । प्रतिनिधि सभा र केन्द्रीय कार्यकारिणी समितिमा ४० प्रतिशत संख्या पुर्याएमा मात्रै महन्थ पक्षले आफ्ना सांसद जोगाउन सक्थे । यद्यपि उसले उक्त संख्या पुर्याउन भने सकेन ।
आयोगको जसपा आधिकारिकताको निर्णय पश्चात् महन्थ पक्षले नयाँ पार्टी खोल्ने या नखोल्ने भन्ने सन्दर्भमा कुनै निर्णय गरेको पनि थिएन । आयोगको निर्णयमाथि सर्वोच्चमा महन्थ पक्ष अदालतमा पुग्यो । विडम्बना अदालत पुगे पनि जसपा आधिकारिकता भने उसले पाउन सकेन । असार ११ गते साँझ जसपा अध्यक्ष यादवले पार्टीको आधिकारिकता ग्रहण गर्दै भने, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी निर्णयलाई साथ दिएकोले त्यसको आत्मालोचना गरे महन्थ पक्षलाई पार्टीमा स्थान दिइने छ ।’
यद्यपि महन्थ पक्षले आत्मालोचना गरेर जसपामै रहेमा अध्यक्ष उपेन्द्र यादवको अधिनमा रहनुपथ्र्यो । यदि उपेन्द्रको पक्षमा सामेल भएको भए दोस्रो वरियताको अध्यक्ष भएर बस्नुपर्ने महन्थलाई बाध्यता हुन्थ्यो । किनकि प्रतिनिधि सभा सदस्य र पार्टीको कार्यकारिणी सदस्य संख्या धेरै मात्रामा उनकै पक्षमा छ । निर्वाचन आयोगले पार्टी आधिकारिकता पनि उपेन्द्र पक्षलाई नै प्रदान गरेको छ ।
उता महन्थ ठाकुर पक्षले नयाँ पार्टी खोल्ने तयारी भएको बताए पनि सांसदहरूको दबाबका कारण त्यसो हुन नसकेको बताइएको छ । पार्टीको आधिकारिकता पाएपछि उपेन्द्र पक्ष सरकारमा जाने तयारी गरिरहेको छ भने आधिकारिता गुमाएको महन्थ पक्ष विशेष गरि प्रदेश २ का विभिन्न जिल्लाहरूमा आफू निकट नेता तथा कार्यकर्ताहरूसँगको भेटवार्ता र छलफललाई तीव्रता दिएको छ । भेटवार्ता र छलफल पश्चात् नयाँ दल दर्ता गरेर अगाडि बढ्ने उसले बताएको छ । किनकि जसपामा रहन सक्ने अवस्था नरहेपछि उसले राजीतिक दलसम्बन्धी ऐन २०७७ को दफा ४४ को (६०) बमोजिम अर्को पक्ष छुट्टै राजनीतिक दल दर्ता गर्नसक्ने व्यवस्था छ । तर, यस सम्बन्धि उसले तत्काल कुनै आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैन ।
यदि दल दर्ता सम्बन्धीको ऐनअनुसार महन्थ पक्षले नयाँ दल दर्ता उसको संघ, प्रदेश र स्थानीय तहका सबै प्रतिनिधिहरूको पद स्वतः खारेज हुने कानुनी प्रभावधान छ भने जसपामै रहेमा पद जोगिन सक्छ । तर, महन्थको पहिलेको जस्तो पहिलो वरियताको अध्यक्ष पद रहन सक्ने सम्भावना भने नहुन सक्छ । पहिलो वरियताको अध्यक्ष दोस्रो वरियतामा रहनु आफैमा लज्जास्पद हुने भएकाले महन्थ जसपामा फर्किनुभन्दा पनि नयाँ दल दर्ता गर्ने पक्षमा छन् ।
त्यस्तै निर्वाचन आयोगले जसपाको नयाँ कार्यकारिणी समितिको विवरणलाई साउन २५ गते अद्यावधिक गरेको थियो । उपेन्द्र पक्षलाई पार्टी आधिकारिकता प्रदान गरेपछि पठाइएको अभिलेख अद्यावधिक गरेसँगै महन्थ ठाकुरको अध्यक्ष पद गुमेको हो । पार्टी आधिकारिकता पाएको उपेन्द्र पक्षले यसअघि नै कार्यकारिणी समितिको बैठकको निर्णय निर्वाचन आयोगमा पठाइ सकेको थियो । त्यसलाई अभिलेखिकरण गरिसकेको पुष्टि आयोगका प्रमुख तथा निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गरेका हुन् ।
आायोगले जसपामा ३५ सदस्यीय नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गरेपछि महन्थ पक्षले नयाँ पार्टी खोल्ने या अर्को विकल्प खोज्ने बाटो खुल्ला भएको छ । यसअघि पार्टी आधिकारिकता पाउँ भन्दै महन्थ पक्ष सर्वोच्चमा पुगेको थियो । तथापि सर्वोच्चले निर्वाचन आयोगकै निर्णयलाई सदर गरिदिएपछि उसको आधिकारिकता गुमेको छ । पार्टी आधिकारिकता गुमेसँगै महन्थको अध्यक्ष पद पनि गुमेको हो । निर्वाचन आयोग र सर्वोच्चको यो निर्णयसँगै महन्थ पक्ष कानुनी रूपमै जसपाबाट बाहिरिएको छ ।
महन्थ–राजेन्द्र पक्षले जसपाबाट कानुनी रूपमै बाहिरिएपछि प्रदेश–२ का विभिन्न जिल्ला र स्थानीय तहमा छलफल तथा भेटघाटलाई तीव्रता दिएको बताइएको छ । उसले आफू इतरका नेता तथा कार्यकर्ताहरूलाई भेला गरेर छलफल अगाडि बढाएको हो । स्थानीय तहदेखि केन्द्रसम्मका नेताहरूसँग यसअघि पनि उसले भेटवार्ता र छलफल गरिसकेको छ ।
त्यस्तै प्रदेश–२ केन्द्रित हुनुको कारण महन्थ पक्षले यो प्रदेश आफ्नो पक्षको पकटमा भएको बताएको छ । महन्थ पक्षनिकट नेता सर्वेन्द्रनाग शुक्लाका अनुसार, ‘तत्काल नयाँ दल दर्ता गर्ने आफूहरूको योजना छैन । तर, हामी मधेस केन्द्रित छलफल र भेटघाटकै क्रममा छौँ । हाम्रा पक्षका जनवर्गीय संघ, संगठनहरूका पदाधिकारीसँग छलफल भैरहेको छ । यद्यपि जसपाभित्र रहने अवस्था नरहेपछि हामी आफ्नो संगठन सुदृढीकरणतर्फै लागेका छौँ । त्यसपछि अवस्था हेरेर नयाँ पार्टी खोल्ने कुरा त छँदैछ ।’