• फाल्गुन २८ २०८२, बिहीबार

पार्टी फुटबाट जोगाउन एमाले नेताहरूको दिल्ली दौडाहा

श्रावण ३१ २०७८, आईतवार

काठमाडौं । नेकपा (एमाले) आन्तरिक विवादको अनन्त चक्रव्युहमा फसेको आधा वर्ष पुग्नै आँटेको छ । आधा वर्षको पेरिफेरीमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच गहिरिँदै गएको विवादले सिंगो एमाले विवादित बनेको छ ।

पार्टीका शीर्ष नेताद्वय ओली–नेपाल पक्षको विवादका कारण विभाजनको रेखामा उभिएको एमाले दिनहुँ आन्तरिक कलहको दुष्चक्रमा फस्दै गएको छ । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको राजनीतिक इगो र हठका कारण एमाले चरम विवादको सिकार बन्दै गएको हो । सर्वोच्च अदालतले गत वर्ष २०७७ फागुन २३ गते नेकपा बदरको फैसला र देशका दुई ठूला राजनीतिक दल एमाले र माओवादी केन्द्र ब्युँत्याएको छ । यी दुई पार्टी ब्युँतिएपछि माओवादी केन्द्रमा विवाद देखिएको छैन भने एमाले पार्टीभित्र ओली–नेपाल पक्षको विवादले एमाले थिलोथिलो बनेको छ ।

नेताद्वय ओली–नेपाल पक्षको विवादले पार्टी फुटको सम्मुखमा पुगेपछि फुटबाट जोगाउन दुवै तहका दोस्रो वरियताका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, भीम रावल, घनश्याम भुषाल लगायतका केही नेता सक्रिय भए । यसअघि संघीय राजधानी काठमाडौं उपत्यकाका केही होटल चहारेका ती नेताहरूले ओली–नेपालको अनौपचारिक भेटवार्ता र टेलिफोन संवाद गराए । तथापि त्यसले कुनै निष्कर्षको आकारसम्म पुर्याउन भने सकेन ।

विवाद समाधानको निष्कर्षमा नपुग्नुको कारण दुवै समूहका शीर्ष नेताद्वयको आआफ्नै राजनीतिक मुद्दा, चट्टानी अडान र राजनीतिक इगो नै हो । उनीहरूको यही कुरा कारक बनेपछि ‘विवाद समाधान नभएको एमाले दुवै समूहका नेताहरू बताउँछन् । नेता नेपाल एमाले पूर्वसंरचना २०७५ जेठ २ मा फर्काउन चाहन्थे भने ओली त्यसमा सहमति थिएनन् । ओली–नेपालबीचको सहमति वा एमाले एकता यसमै आएर अड्किएको थियो ।

यही अडानबाट नेता नेपाल एकरत्ति नगलेपछि पानी–पानी हुँदै अध्यक्ष ओलीले १० बुँदे एकता प्रस्ताव आह्वान गरे । तथापि उक्त प्रस्तावमा नेपालको अडान विपरीत ‘एमाले पार्टी संरचना जेठ ३ उल्लेख थियो । त्यसमा उनले असहमति जनाएपछि विवाद समाधान नभै झनै चर्कियो । दुवै पक्षका नेताहरू एकआपसमा आरोप–प्रत्यारोप गर्न थाले । त्यसकै बीचमा केही महिनाअघि पुनः एकता प्रयासका लागि राजधानीको एक होटलमा ओलीनिकट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र नेता नेपालनिकट भीम रावल, घनश्याम भुषाललगायत केही नेताले अनौपचारिक भेटवार्ता र छलफल गरे ।

एकता प्रयासका लागि दुवै समूहका दोस्रो वरियताका नेताहरूबीच आन्तरिक छलफल जारी नै थियो । त्यसकै बीचमा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यराति दोस्रो पटक संसद् विघटन गरिन् । संसद् विघटन भएपछि माधव नेपालले ओलीको यो कार्य पुनः असवैधानिक र प्रतिगमन भएको भन्दै आलोचना गरे । पहिलो पटक गत वर्ष २०७७ पुष ५ गते संसद् विघटन हुँदादेखि नै ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै विरोधमा उत्रिएका नेपाल दोस्रो पटक संसद् विघटन गर्दा झनै ओलीप्रति रुष्ट बने ।

रुष्ट बनेका नेता नेपाल जेठ १० गते विपक्षी दलहरूको गठबन्धनमा सामेल भए । एमाले नेपाल समूहका सांसदहरूले विपक्षी गठबन्धनका नेता तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा हस्ताक्षरसहित रिट दर्ता गराए । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव–संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई (उपेन्द्र–बाबुराम) र एमाले वरिष्ठ नेता नेपाल समूहका सांसद् सहित १ सय ४६ जनाले आफ्नो हस्ताक्षर सहित रिट दर्ता गराए ।

यो बीचमा ओलीले चलाखी गर्दै एमाले पार्टीको पहिलेकै संरचना अर्थात् नवौँ महाधिवेशनबाट गठित सांगठानिक संरचना २०७५ जेठ २ ब्युँत्याए । त्यसमा नेपाल केहीहदसम्म लचिलोमात्रै बने । तर, सहमति भने जनाएनन् । बरु आफू गठबन्धनकै पक्षमा उभिएको बताए । यद्यपि ओलीले सर्वोच्चको आदेश आउनुभन्दा पहिले नै देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका नेपाल समूहका २३ जना सांसदको हस्ताक्षर फिर्ता गराउन जोडबल गरे । तर, सर्वोच्चको फैसला अघिसम्म न्यायालयलाई प्रभावित पार्ने कुनै पनि निर्णय नगर्ने नेता नेपालले अडान राखे ।

त्यसपछि सर्वोच्चले संसद् विघटन असंवैधानिक ठहर गर्दै गत असार २८ गते उक्त निर्णयलाई बदर गर्यो । त्यसको भोलिपल्ट अर्थात् असार २९ गते संविधानको धारा ७६ को ५ अनुसार काँग्रेस सभापति देउवालाई प्रधानमान्त्रीमा नियुक्त गरियो र ओली पदमुक्त भए । उनकै समूहका नेताहरूको भनाइलाई आधारमा मान्ने हो भने नेपालकै अडानका कारण ओली सत्ताबाट बाहिरिनु पर्यो ।

त्यसयता एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई एमालेमा ठाउँ नभएको भन्दै अशोभनीय र अक्षम्य अभिव्यक्ति दिँदै आएका छन् । नेपालले पनि पार्टीभित्र दमन सहेर नबस्ने बताउँदै आएका छन् । ओली–नेपालको अभिव्यक्तिकै कारण एमालेभित्र चिसिनै लागेको विवाद पुनः रापमा परिणत भएको छ । विवादित रापबाट पार्टी टुक्रिन लागेपछि फेरि पार्टीका दोस्रो वरियताका नेताहरू विवाद सल्टाउन सक्रिय भएका छन् ।

विवाद उत्कर्षमा पुगेको र पार्टी नै फुटको डिलमा उभिएपछि नेता सुरेन्द्र पाण्डे र भीम आचार्य असार ३० गते भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । नयाँ दिलीस्थित एपोलो अस्पतालमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनीहरू दिल्ली पुगेका हुन् । यी दुवै नेता खनालनिकट मानिन्छन् । एमाले वरिष्ठ नेता नेपालले पार्टी विभाजनको सम्मुखमा पुगेको बताएपछि उनीहरू दिल्ली प्रस्थान गरेका हुन् । यद्यपि नेताद्वयको दिल्ली प्रस्थान र खनालसँगको भेटलाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ ।

एमाले एकताको सम्भावना टर्दै गएपछि दुवै नेताले खनाललाई भेटेर परामर्श गर्न लागेको स्रोत बताउँछ । तर दुवै नेताले खनालको स्वास्थ्य अवस्थाबारे बुझ्नका लागि दिल्ली प्रस्थान गरेको अथ्र्याएका छन् । यी नेताले असार २७ गते पार्टी एकता कार्यदलले गरेको १० बुँदे सहमति अनुसार नै एमालेलाई एक बनाउने पक्षमा उभिँदै आएका छन् । नेपाल पक्ष पार्टी फुटाउन लागेको भन्दै पाण्डे र आचार्यले दिल्लीमा यसबारे खनालसँग थप छलफल गर्ने बताइएको छ । खनालसँग छलफलपछि आफूहरू एमालेमै रहने वा अलग हुनेबारे निर्णय लिने सम्भावना देखिएको छ ।

त्यस्तै पार्टी एकता बारेमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलबीच आइतबार छलफल भएको छ । पोखरेल निवासमा भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ । छलफलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षको एकता कार्यदलबीच असार २७ गते भएको १० बुँदे सहमतिअनुसार नै पार्टी एकता गर्ने छलफल भएको छ । नेपाल पक्षले यसअघि नै शक्ति बाँडाफाँटमा स्पष्ट हुनुपर्ने अडान राखेको छ । यद्यपि नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली राजी भएपनि बराबरी हैसियत दिन नहुने भन्दै अडान लिएका छन् । महाधिवेशनबाट निर्वाचित अध्यक्षकै बराबरी हैसियत पाउन असम्भव भएको यसअघि नै ओलीले स्पष्ट पारिसकेका छन् ।

एमाले फुटबाट जोगाउन पटक–पटक ओली–नेपाल पक्षका दोस्रो वरियताका नेताहरू सक्रिय हुँदै आएका छन् । वरिष्ठ नेता नेपालनिकट तथा एमाले उपाध्यक्ष भीम रावल यसअघि एकता कार्यदलले गरेको १० बुँदे सहमतिलाई कार्यान्वयन गरेरमात्रै पार्टी एकता गर्ने तर्क गर्छन् । तथापि एमाले फुट हुनबाट कुनै हालतमा जोगाउन उनको कोसिस छ । यसका लागि उनले ओलीनिकट नेताहरूसँग प्रत्यक्ष वा परोक्ष भेटवार्ता गर्दै आएका छन् । उनी भन्छन्, ‘पार्टी एकता हुन्छ, जसका लागि हामी आन्तरिक गृहकार्यमै व्यस्त छौँ । केही असहमति छन् । यिनै असहमतिका आधारमा सहमतिको मिलनविन्दुमा पुग्ने कोसिस गरिरहेका छौँ ।’