काठमाडौँ। पार्टी भित्रको विवाद समाधानका लागि एमाले उपाध्यक्ष भिम रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । पोखरेल निवास धापासीमा आइतबार एमाले उपाध्यक्ष रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको हो।
आजको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १० बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गरेका थिए ।
महासचिव पोखरेलले पार्टीमा असन्तुष्ट नेताहरुसँग पनि संवाद गर्दै आएको उनका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए ।
प्रतिनिधिसभाको विघठन, सर्वाेच्च अदालतको पुनःस्थापनाको फैसला र नयाँ सरकारलाई समर्थन जस्ता विषयमा एमाले मतभेद उत्पन्न हुँदै आएको छ ।
अध्यक्ष केपी शर्मा ओली लचिलो नभएमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खोल्नसक्ने जनाए पनि सो पक्षकै कतिपय नेताहरु विभाजनको विपक्षमा उभिएका छन् ।